11/14/2025, 12:54:30
शुक्रबार, कार्तिक २८, २०८२

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान


काठमाडौँ, कात्तिक २८ : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।