काठमाडौँ, मङ्सिर १ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेटवार्ता गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा आज भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको छ । भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराउनुभयो । मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको अवगत गराउनुभएको जानकारी सञ्चारमन्त्रीको सचिवालयले दिएको छ ।
सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरु सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरुप सरकारले निर्वाचनको सुरक्षालगायत तयारी गरिरहेको पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभयो ।
उहाँले जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तन लगायतका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्नुभयो ।

त्यस क्रममा पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोही अनुसारको माहोल बनाउनुपर्छ र निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्छ ।”
सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














