काठमाडाैँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।
शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्न तयार भएका हुन्।
शर्मा र भुसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित ‘विप्लव’निवास पुगेका थिए। त्यहाँ उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यलगायतका विषयमा छलफल भएको थियो।
‘हामी सहकार्यमा छौँ। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार गर्ने, घनिभूत बनाउनेतर्फ छलफल गर्दै छौँ,’ बैठकपछि भुसालले भने, ‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्यलाई विकसित गर्दै जानेछौँ।’
उनले सहकार्यका लागि एकताबद्ध भएर जाने भन्दै तर त्यसलाई एकीकरण भन्ने भ्रम भने पाल्न नहुने बताए। ‘हामी एकताबद्ध भएर जानेछौँ। तर, एकीकरण भन्ने भ्रम नपरोस्,’ उनले भने।
नेता भुसालले आफूहरूबीच विगतमा पनि सहकार्य भएको भन्दै थप समीक्षा गरिने बताए। ‘विगतमा पनि हाम्रो सहकार्य छँदै थियो। पातलो भएको थियो । अब त्यसलाई नवीकरण गर्नेछौँ,’ उनले भने।
बैठकका विषयलाई समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँदै छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलबीच एकता हुने भएपछि शर्मा र भुसाल अलग भएर आआफ्ना अभियान चलाउने घोषणा गरेका छन्। शर्माले प्रगतिशील अभियान नेपालको नामबाट युवालाई एकीकृत गर्दै अभियान चलाउने औपचारिक घोषणा गरेका छन्।
भुसालले एकीकृत समाजवादीबाट एकतामा नगएकाहरूलाई एकीकृत गर्दै अभियान अगाडि बढाउने बताएका छन्।
विप्लवले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा अन्तरिम सरकार निर्माण लगायतको मागसहित र्याली र जनसभा गरेका थिए। सभामार्फत उनले सच्चा कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











