11/25/2025, 14:28:02
मङ्गलबार, मङि्सर ०९, २०८२

जीर्ण सुनपोखरी पुनर्निर्माणमा तीन करोडको रोक्का, १५ लाख बजेटमा पाइपमाथि पाइप जडान


डडेल्धुरा, मङ्सिर ९ गते ।दुई हजार पाँच सय रोपनीभन्दा बढी भूमिमा सिँचाइ हुने गरी पञ्चायती कालमा निर्माण गरिएको २० लाख लिटर क्षमताको पोखरी फुटेर जीर्ण बनेको १५ वर्ष भयो । ४०० बढी परिवारले व्यवसायिक रूपमा तरकारी खेती गर्दै आइरहको जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-७, पोखरा क्षेत्रमा उक्त पोखरी फुटी सके पछि छेउमा ५० हजार लिटर क्षमताको सानो पोखरी निर्माण गरिएको छ । सानो पोखरीबाट सिँचाइ पर्याप्त नहुने भएपछि व्यवसायीक तरकारी खेती गर्दै आइरहनु भएका किसानलाई हैरानी छ ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट सुनपोखरी पुनर्निर्माणका लागि तीन करोड रकम विनियोजन भएको थियो । तर जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले उक्त तीन करोड रकम रोक्का गरिदिँदा स्थानीय निरास भएको वडाध्यक्ष खडक बोहराले बताउनुभयो ।

पोखरी फुटेर जीर्ण भएको १५ वर्षपछि धौँधौँ निर्माणका लागि रकम परेको थियो । उहाँले भन्नुभयो, ‘‘सुनपोखरीको पुनर्निर्माणका लागि वडामा आम भेला बोलाई छलफल पनि गर्यौ । तर अहिले अर्थ मन्त्रालयले रकम रोक्का गरिदिँदा किसान निरास मात्रै होइनन् अझै पोखरी नबन्ने भयो भनि चिन्तित भएका छन् ।’’

डडेल्धुरामा चालु आर्थिक वर्षमा मात्रै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको थियो । यस कार्यालयबाट सुनपोखरी पुनर्निर्माणका लागि संसद विकास कोषको तीन करोड रकम प्राप्त भएको थियो । एक दर्जन योजना कार्यान्वयन गर्ने गरी कार्यालय यस वर्ष स्थापना भएको थियो । तर नौ वटा योजनाहरूको बजेट रोक्का गरिँदा अन्यौलता रहेको कार्यालयका सुब्बा देवेन्द्र शाहुले बताउनुभयो ।

उहाँका अनुसार एक दर्जन सिँचाइका योजनामा करिब ३४ करोड रकम प्राप्त भएको थियो । जेनजी आन्दोलन हुनुभन्दा अगाडि तीन वटा योजनाको टेन्डर भइसकेको थियो । बाँकी सबै योजनाको रकम रोक्का गरिएको छ । केही दिन अघि मात्रै कार्यालयमा कार्यालय प्रमुख उपस्थित भएपछि बजेट रोकिएको जानकारी पछि योजनाका फाइल बोकेर उहाँ मन्त्रालय तर्फ हिँडेको सुब्बा बाहुले जानकारी दिनुभयो ।

सुनपोखरी सिँचाइ योजनामा गत वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुरामा १५ लाख बजेट थियो । कार्यालय प्रमुख अमर पालका अनुसार उक्त बजेटमा गत वर्ष जिआई पाइप खरिद गरी जडान गर्ने काम गरिएको छ । उपभोक्ता समिति मार्फत पुरानो पोलिथिन पाईपमाथि नै जिआई पाइप खरिद गरी जडान गरिएको हो ।

उहाँका अनुसार असार मसान्तमा पूरै रकम बारबर काम गर्न नसकिएपछि जडान गरिएको उक्त जिआई पाइपमा पिल्लर राख्ने काम मङ्सिर महिनाको पहिलो साता मात्रै छ । असार मसान्तसम्म ११ लाख बराबरको काम मात्रै गरिएको र यस महिना पिल्लर निर्माण गर्ने काम गरिरहेको कार्यालय प्रमुख पालले बताउनभयो ।

सुनपोखरी सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर कैनी नेपाल सरकारका करार कर्मचारी हुनुहुन्छ  । सरकारी कर्मचारीले उपभोक्ता समितिको अध्यक्ष, सविच वा कोषाध्यक्षमा बस्न नपाइने प्रावधान भए पनि विगत दुई वर्ष यता उहाँ उपभोक्ता समितिका अध्यक्ष र पोखरा खानेपानी उपभोक्ता समितिमा सचिव रहनु भएको स्थानीय दिपेन्द्र भण्डारीले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष कैनी जिल्ला आयुर्वेद कार्यालय डडेल्धुरामा पाँच वर्ष यता आयुर्वेद वैद्य पदमा कार्यरत कारारका कर्मचारी रहेको आयुर्वेद कार्यालय प्रमुख निशान्त शर्माले जानकारी दिनुभयो ।

पोखरा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर कैनीले गत जेठ महिनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कर्यालय डडेल्धुराको १५ लाख बजेटको योजनामा करिब डेढ लाख लिटर क्षमताको पोखरी निर्माणका लागि आमभेला बोलाई सम्झौताको तयारी थालिएको बताउनुभएको थियो ।

जीर्ण बनेको ठुलो पोखरीको छेउमा करिब ५० हजार लिटर क्षमताको पोखरीबाट यस क्षेत्रमा २० वटा धारा बनाई स्थानीयहरूले सिँचाइ गर्दै आइरहेका छन् । अब उक्त सानो पोखरीभन्दा दुई गुणा ठुलो पोखरी निर्माण गरिने भएकाले आवश्यकताका आधारमा धाराहरू समेत थप गर्ने निर्णय समितिले गरेको उहाँले जानकारी दिनुभएको थियो । तर पछि जिआई पाइप मात्रै खरिद गरी जडान गरिएपछि कर्मचारी र उपभोक्ता समितिबिच मिलोमतोमा भ्रष्टाचार भएको आशङ्का स्थानीयको छ ।

जीर्ण सुनपोखरी उद्देश्य अनुसार सञ्चालन नआउदै रित्तो रहदा पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रकमको टेन्डर भएको पोखरीका तत्कालीन अध्यक्ष हरिलाल पार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी निर्माण भएपछि पोखरा बजार आसपासको जमिनमा सिँचाइ गरिँदै आएको थियो ।

२०६६ साल आसोज महिनाको अबिरल वर्षापछि पोखरीमा दरार आई फुट्यो । त्यस यता जीर्ण बनेको पोखरी निर्माणका लागि आर्थिक वर्ष २०८०/०८१ मा पाँच लाख रकम बजेट परेको थियो । तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भएको थियो ।

पहिलो पटक सुनपोखरी पञ्चायती व्यवस्था वि.सं.२०२९ सालमा निर्माण गरिएको थियो । यो पोखरी पूर्णरूपमा कहिल्यै सञ्चालनमा आउन सकेको थिएन । पुनर्निर्माण गरी दुई पटक सञ्चालनमा ल्याइए पनि फुटेर जीर्ण बनेको डेढ दशक बढी भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..