11/20/2025, 15:56:29
बिहिबार, मङि्सर ०४, २०८२

महाधिवेशन होइन, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर


एक मन त लाग्यो, यो कोलम नलेखौँ । चार मुहार मनमा आउँदैछन्– शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगनकुमार थापा र शेखर कोइराला । यीमध्ये जसलाई मैले जीवनमा पहिला चिनेँ, त्यही समयक्रमअनुसार नाम लेखेको हुँ ।

लेख्न त म अर्जुन नरसिंह केसी, शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, महेश आचार्य, मीनेन्द्र रिजालको नाम पनि लेख्न चाहन्थेँ । मैले जीवनमा चाहेका कयौँ काम गर्न सकिनँ । चाहँदाचाहँदै पनि यी वा यस्ता कयौँ नाम थप्न सकिनँ ।

तर, मलाई आफ्नी बेस्ट फ्रेन्ड, जसलाई राजनीति र पत्रकारितासँग कुनै सरोकार नै छैन, उनले भनिन्, ‘तिमी आफ्नो व्यक्तिगत चाहनाभन्दा पर रहेर नेपाली कांग्रेसबारे लेख्न प्रयास गर । आफ्नो मनलाई गहिरो गरी छाम, त्यहाँ जे पाउँछौ, त्यसैलाई शब्दमा उतार । यो कोलमका सन्दर्भमा मात्र होइन, अरू कुनै पनि सिर्जनाका विषयमा पनि यसै गर, जो तिमी प्राय: गर्छौ पनि । तिमी जे भन्न चाहन्छौ, छोटो र स्पष्ट भाषामा भन ।’

आफ्नो जीवनसाथीले यस्तो भरोसा दिएपछि मलाई यो कोलम लेख्न र पोडकास्ट गर्न सजिलो भयो । हुन त हामी मान्छे आफ्नो मनको सबैभन्दा भित्री कुना देख्नै नपाई मर्छौं, छाम्नु त परको कुरा भयो ।

प्रिय लेखक शंकर लामिछानेले भनेका थिए, ‘हामीले जीवनभर के भन्न चाहेका हौँ, त्यही पहिल्याउन सक्दैनौँ । भन्ने कुरा पहिल्याउँदै जाँदा जीवन समाप्त भइसकेको हुन्छ ।’

सौभाग्यवश, मेरो मनको द्धन्द्ध र विषय शंकर लामिछानेजतिको गहिरो छैन । यहाँ अहिले, नेपालमा चल्ने मामुलीखाले राजनीतिको कुरा न हो, जसलाई नेपाली मिडिया र गफाडी समाजले अनावश्यक जेरिजस्तो घुमाएर प्रस्तुत गर्छ । के–के न जटिल कुराजस्तो बनाएर देखाएर । ‘मोही माग्ने ढुंग्रो लुकाउने’ शैलीमा ।

मलाई सिर्फ चार नामबीच बाटो पहिल्याउनुछ– नेपाली कांग्रेस पार्टीको हालको सन्दर्भमा । यी चारै मुख्य खेलाडी हुन् हाल चलेको खेलका । यतिका दिन बितिसक्दा पनि एउटै विषयमा निर्णय गर्न सकिरहेका छैनन् । कति खिइसके कांग्रेसका नेताहरू । सम्झँदा पनि छक्क पर्छु– यही पार्टीमा कुनै दिन बीपी, सुवर्णजी, गणेशमानजी, किशुनजी, गिरिजाबाबुजस्ता नेताहरू पनि थिए, जसले अप्ठ्यारा निर्णय पनि सजिलै गर्थे ।

म कांग्रेसी होइन । जीवन र जगतको जिज्ञासु (seeker) हुँ । ट्याग नै भिराउनु हो भने– मूडी, अराजक डेमोक्र्याट भन्नु भए हुन्छ । जब तथ्य बदलिन्छ, म आफ्ना विचारमा एड्जस्टमेन्ट गर्न तयार हुन्छु । मेरो जीवनका सत्य पटक–पटक बद्लिए । एउटै मान्छे मलाई कहिले रामजस्तो, कहिले रावणजस्तो, कहिले नारदजस्तो लाग्यो । मेरो जीवनका सत्य पटक–पटक बद्लिए ।

मैले किशुनजी र गणेशमानजीलाई त ‘जय नेपाल’ भनिनँ, अरूको के कुरा । आफ्नो निजत्वलाई मैले सङ्गालेर राखेँ । निजत्व र स्वत्व नै मान्छेको सबैभन्दा ठूलो सम्पत्ति हो जस्तो लाग्छ मलाई । किनभने, म मूलतः जिज्ञासु पहिला हुँ, त्यसपछि अरू थोक । यति भन्दै–भन्दै पनि भन्नै पर्ने हुन्छ– जीवनक्रममा धेरै यस्ता व्यक्तिसँग उठबस भयो जो कांग्रेस थिए । वा, खगेन्द्र संग्रौलाजस्ता वा प्रदीप गिरी दाइजस्ता आधा कांग्रेस थिए । कतिपय अर्थमा वैचारिक रुप अराजक थिए, संगठित थिएनन् ।

त्यसैले होला, कांग्रेस पार्टीको  भविष्यप्रति थोरबहुत  चासो  छ मेरो मनमा । त्यसबाहेक, मभित्रको पत्रकार पूरा मरिसकेको छैन, त्यसको प्राण बाँकी नै छ । दर्शक–पाठकको दबाब छ– केही बोल्नुपर्‍यो यो विषयमा ।

अहिलेको विषयलाई एक लाइनमा भन्नुपर्दा– यो नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि अन्तरपार्टी संघर्षको पराकाष्ठा हो । हामीलाई लाग्छ, मुख्य चार पात्र छन् । अझ साँचो भन्नुपर्दा, मुख्य तीन पात्र छन्, किनकि शेरबहादुर देउवा विधानतः आगामी सभापति हुने छैनन् । यो कुरा उनले धेरैअघि चितवनमा भनिसकेका छन् ।

गगन थापा सोच्थे– उनी पुराना नेतालाई  ‘रन ओभर’ गरेरै, मिडियामार्फत मिचेरै, पुस्तान्तरणको नाममा, नेपाली कांग्रेसजस्तो परम्परा र संस्कार भएको पार्टीको सभापति हुन सक्लान् । ‘हामी युवा आयौँ, त्यसैले पुरानाहरूले हाम्रो सम्मानमा तत्काल सिट खाली गर्नैपर्छ’ भन्ने फगत मिडिया भाष्यले मात्र गगन थापालाई धेरैथोक बनाउन सक्छ, तर नेपाली कांग्रेसको सभापति बनाउन सक्दैन ।

शेरबहादुर देउवा र गगन थापाबीच एउटा अर्को ट्रान्सिसनल सभापति आउने सम्भावना लगभग निश्चित छ । यो नै नेपाली कांग्रेसजस्तो मध्यममार्गी विचारधारा र आचरणको इतिहास, परम्परा र संस्कार बोकेको पार्टीका लागि सही बाटो हुनेछ । मध्यम मार्ग, परम्परा र संस्कार नमान्ने हो भने– नेपालमा कांग्रेस पार्टीको धरातल बाँकी रहने छैन ।

‘पुस्तान्तरण त राजतन्त्रमा मात्र हुन्छ, लोकतन्त्रमा त शक्तिको हस्तान्तरण मात्र सम्भव हुन्छ’ भन्ने मीनेन्द्र रिजालको महावाक्यको अर्थ अब सबैले बुझिसकेका हुनुपर्छ । तर, यसो भन्दैमा गगन थापाको पब्लिकमा रहेको लोकप्रियतालाई अवमूल्यन गर्ने मूर्खता कसैले गर्नुहुँदैन ।

आजको दिनमा, कांग्रेस राजनीतिको संकटमा, गगन थापा नै नेपाली कांग्रेससँग भएको ‘बेस्ट स्ट्राइकर’ हुन् । उनी आफूसँगै हुँदाहुँदै आसन्न निर्वाचनमा कुनै अरू खेलाडीलाई पेनाल्टी हान्ने मौका दिनु फलदायी हुँदैन । गगन थापालाई नै आगामी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर जाँदा कांग्रेसको सम्भावना बढ्छ । गगन थापा प्रधानमन्त्री पदका लागि योग्य उम्मेदवार हुन् । तर, कांग्रेस पार्टीको सभापति पदका लागि उनी अझै तयार भइसकेका छन् जस्तो मलाई लाग्दैन ।

नपत्याए, महाधिवेशनमा भोट गनेर हेरे हुन्छ । गगन थापा सभापति पदका लागि आफैँ तयार होलान्, तर कांग्रेसका परम्परा, संस्कार, आनीबानी, कमजोरी, शक्ति, जटिलता र मान्यताहरूको कसीमा उनले सभापति पदका लागि अलिकति धैर्य गर्नुपर्छ । म फेरि दोहोर्‍याउन चाहन्छु– शेरबहादुर देउवापछि कांग्रेसलाई एउटा ट्रान्जिटरी सभापति हुनु पार्टी एकताका लागि सहज हुन्छ । मलाई विश्वास छ, योग्य हुँदाहुँदै पनि निजी महत्त्वकांक्षाको यति त्याग गर्न गगन थापा पनि तयार नै होलान् ।

कांग्रेस पार्टीको बैठक अनावश्यक तन्काएर जग हँसाउनुभन्दा सभापति देउवाले दुई महत्त्वपूर्ण निर्णय गर्दा हुन्छ ।

पहिलो– महाधिवेशनको सन्दर्भमा हाल चलेका दुवै बहस (विशेष महाधिवेशन कि नियमित महाधिवेशन) असान्दर्भिक हुन् भन्ने निर्णय । मुख्य कुरा चुनाव हो भन्ने निर्णय । होइन, एमालेलाई झैँ कांग्रेसलाई पनि यदि लाग्छ संसदको पुनर्स्थापना नै समाधान हो भने फैसला कुर्दा हुन्छ । म त्यो पक्षमा छैन । मलाई लाग्दैन कांग्रेस त्यो पक्षमा हुनेछ ।

अहिलेको कांग्रेस विवादको मुख्य चुरो– चुनावमा टिकट कसले बाँड्छ भन्ने हो । र, मुख्य कुरा कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जनतामाझ लैजाने भन्ने हो । बाँकी त तपसिलका कुरा हुन् ।

दोस्रो– पार्टी पूर्णबहादुर खड्का र शेखर कोइरालाले चलाउनुहुन्छ । गगन थापा कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार बनेर जनतामाझ जानुहुन्छ । टिकट वितरणको एउटा मेकानिजम् बन्छ । चुनावपछि मात्र कांग्रेसको महाधिवेशन हुन्छ । त्यसलाई ‘विशेष’, ‘नियमित’ जे नाम दिए पनि हुन्छ । त्यसै महाधिवेशनले कांग्रेसको नयाँ सभापति निर्वाचित गर्नेछ ।

कांग्रेस केन्द्रीय समितिको बैठक र यो मल्टिमिडिया कोलम अनकटलाई थप तन्काउनुपर्ने कुनै आवश्यकता छैन । आजलाई यति नै ।

– विजय कुमार


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..