11/10/2025, 14:21:42
सोमबार, कार्तिक २४, २०८२

नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै


काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ ।

गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउछन् । “काठमाडौँ मात्र नभई नि:शुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उनी भन्छन् ।

दाङ जानका लागि नयाँ बसपार्क आएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताउछन् । नि:शुल्क इन्टरनेटको सेवालाई गाउँगाउँसम्म लैजानुपर्ने उनको भनाइ छ ।

नयाँबसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले नि:शुल्क इन्टरनेट सेवा दिएर धेरै राम्रो काम गरेको बताउछन् । “प्रविधिको जमानामा सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेट दिँदा यात्रुलाई धेरै सहज भएको छ”, भट्ट भन्छन् ।

धादिङका दीपक ढकाल नयाँबसपार्कमा मात्र नभई काठमाडौँभित्रका सबै ठाउँमा नि:शुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताउछन् । सरकारले नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ ।

बस व्यवसायी राकेश भट्ट नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र  ठूलो कुरा नभई यसको निरन्तरता ठूलो कुरा भएको बताउछन् । “सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो”, उनी भन्छन् ।

 

माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा नि:शुल्क वाइफाईको पहुँच पुर्‍याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।

सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म नि:शुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउछन् ।

“नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्”, उनी भन्छन् । नयाँबसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठूला बस, १५० हाराहारीमा माइक्रोबस र २०० भन्दा बढी काठमाडौँ उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्ल नयाँबसपार्कबाट दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने गरेको बताउछन् । “सरकारले जडान गरेको नि:शुल्क इन्टरनेट सेवा सबै यात्रुको पहुँच हुनुपर्छ, इन्टरनेट कम्पनी र यात्रुबीचको सहजीकरणको लागि लोत्सेले काम गर्नेछ”, उनी भन्छन् ।

सरकारले गत हप्ता गोँगबुस्थित नयाँबसपार्कसहित उपत्यकाका १९ स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् ।

यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्तकुना, राधेराधे र ठूलो भर्‍याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताउछन् ।

अध्यक्ष कुँवर सार्वजनिक स्थलमा इन्टरनेटको सुविधा अनिवार्य भएकाले यसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताउछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताउछन् । “मन्त्रीज्यूले गरेको निर्णयलाई हामी क्रमशः कार्यान्वयन गर्दै लैजान्छौँ”, उनी भन्छन् ।

सञ्चार मन्त्री खरेल सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको बताउछन् । “दार्चुलाको मार्मा, बझाङ, जाजरकोटको वारेकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्‍याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा इन्टरनेट सेवा पुर्‍याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ”, मन्त्री खरेल भन्छन् ।

सरकारले काठमाडौँ उपत्यकाको नि:शुल्क इन्टरनेट सेवाको सफल परीक्षणपछि सातै प्रदेशका राजधानीमा नि:शुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको मन्त्री खरेल बताउछन् । मन्त्री खरेल सरकारले गाउँ, सहर, सुगम, दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..