काठमाडौँ, असोज २६ : चुनावको तयारीबारे छलफल गर्न शीतलनिवास पुगेका जेन–जी अगुवा र प्रधानमन्त्री सुशीला कार्कीबीच नोकझोक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्याका कारण अनुपस्थित भएको छलफलमा प्रधानमन्त्री कार्कीसामु केही जेन–जी प्रतिनिधिले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार घाइते जेन–जीको नेतृत्व गर्ने अभिषेक श्रेष्ठले आन्दोलनको एजेन्डा, घाइते र मृतकको माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने बताएका थिए । उनले भ्रष्टाचार नियन्त्रणका लागि संरचनागत सुधारहरू हुनुपर्ने मागसमेत राखे । जेन–जी आन्दोलनमा दमन गरेका तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही हुनुपर्ने मागसमेत उनले उठाउँदै आएका छन् ।
जेन–जी रिभोलुसन नेपालका उपाध्यक्ष अर्जुन शाहीले पारदर्शिता देखाउन नसकेको भन्दै सरकारमाथि आक्रोश पोखे । चार जनालाई मन्त्री सिफारिस गरिएको चर्चा चलेको उल्लेख गर्दै ‘सामाजिक सञ्जालमार्फत उनीहरूको नाम कसले अघि सारेको हो ?’ भनी उनले प्रश्न गरेका हुन् । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ, अभियन्ता बब्लु गुप्ता, चिकित्सक रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हान्जोमलाई मन्त्री बनाउने चर्चा शुक्रबार बेलुकी सुरु भएपछि जेन–जीबीच हल्लीखल्ली छ ।
शाहीले भ्रष्टाचार नियन्त्रणका विषयमा समेत जति काम हुनुपर्थ्यो, त्यति नभएको भनी टिप्पणी पनि गरे । जेन–जी प्रतिनिधि प्रवेश दाहालले समेत भ्रष्टाचार नियन्त्रणको सवाल उठाए । अर्का जेन–जी प्रतिनिधि जितेन्द्रप्रताप सिंहले भ्रष्टाचारको फाइल नखोलेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरे । जेन–जी समूहका कतिपय प्रतिनिधिलाई बैठकमा सहभागी हुन नदिइएको भन्दै उनले असन्तुष्टि पनि जनाए ।
जेन–जीको प्रत्येक समूह समेट्ने गरी राष्ट्रपति कार्यालयले शनिबार छलफलमा बोलाएको थियो । छलफलमा सहभागी हुन नपाएका प्रतिनिधिले शीतलनिवास गेटमा नाराबाजी गरेका थिए । पहिले खरो प्रस्तुत हुने हामी नेपालका सुदन गुरुङ छलफलमा केही शान्त थिए । ‘उहाँले चर्को बोल्ने कतिपय साथीहरूलाई रोकिन पनि संकेत गरिरहनुभएको थियो, तर धेरैजना भएको ठाउँमा परिस्थिति अलि असहज भयो,’ बैठकमा सहभागी एक प्रतिनिधिले भने, ‘पहिले सेनासँग वार्तामा हुने युजनराज भण्डारी, रक्षा बमलगायतका साथीहरू पनि खासै बोल्नु भएन ।’
छलफल लयबाट बाहिर गएपछि प्रधानमन्त्री कार्कीले प्रतिवाद गरेको ती प्रतिनिधिले बताए । ‘उहाँ अप्ठ्यारो परिस्थितिमा देशलाई निकास दिन हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभएको हो, तर उहाँ नै चिढिने खालका कुरा आए,’ उनले भने, ‘त्यस्ता कुराले उहाँ रिसाउने परिस्थिति बन्नु पनि स्वाभाविक नै थियो ।’ उनका अनुसार जेन–जीबाट राजीनामा दिनुपर्ने मागसमेत आएपछि कार्कीले ‘खालि राजीनामा माग्ने काम नगर्नुस्’ भन्दै कड्किएकी थिइन् ।
छलफलका क्रममा ‘एनजीओले बनाएको सरकार’ भनी टिप्पणी गरिएपछि पनि प्रधानमन्त्री कार्कीले प्रतिवाद गरिन् । यो आफूले बनाएको सरकार हो भन्दै ढुक्क हुन उनले आग्रह गरिन् । ‘यो जादुको छडी होइन, जुन अहिलेको अहिल्यै ठीक होस्, सुधार गर्ने प्रक्रियामा छौं,’ कार्कीले सम्झाएकी थिइन्, ‘नतिजा दिने गरी काम गरिरहेका छौं, तपाईंहरू हतार नगर्नुस् ।’ तोकिएको मितिमा निर्वाचन गराउन सहयोग गर्ने जिम्मेवारी जेन–जीको समेत भएको भन्दै उनले सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गरिन् ।
प्रधानमन्त्री कार्की झोक्किएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत जेन–जीलाई सम्झाएका थिए । यो सरकार जेन–जीकै सरकार भएको उल्लेख गर्दै उनले सकभर सबैलाई एक ठाउँ उभिन आग्रह गरे । ‘जेन–जी नै फरकफरक कित्तामा बसे राम्रो सन्देश जाँदैन, त्यसैले एउटै कित्तामा उभिने गरी छलफल गर्दा राम्रो हुन्छ,’ पुनको भनाइ थियो, ‘सरकारले काम गरिरहेको छ, सहिद र घाइतेका समस्यालाई सम्बोधन गर्न के–के गर्नुपर्छ, त्यसलाई अघि बढाउन सकिन्छ ।’ मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सहिद र घाइतेका समस्या समाधान गर्न एउटा छुट्टै संयन्त्र बनाउन सकिनेसमेत उनले बताए ।
तत्कालीन सरकार प्रमुख ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्नुपर्ने दबाब घाइते जेन–जीहरूको छ । ओली, लेखक लगायतविरुद्ध जाहेरी लिएर २० असोजमा केही जेन–जी घाइते सुदन गुरुङलाई लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । त्यस विषयमा साँझ गृह मन्त्रालय र रातभर बालुवाटारमा समेत छलफल भएको थियो ।
सुरक्षा निकायका प्रमुखहरूले चुनावका लागि दलहरूको समेत सहयोग चाहिने भन्दै संयमता अपनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । ‘तर जेन–जीको एउटा ठूलो समूहलाई त्यसमा चित्त बुझेको छैन, सरकारले केही न केही गरिदेओस् भन्ने छ,’ शनिबारको छलफलमा सहभागी एक अधिकारीले भने । कतिपयले कर्मचारीतन्त्र र अरू संयन्त्र पुरानै दलका नेताहरू निकट भएकाले काम गर्न कठिनाइ भएको विश्लेषणसमेत सुनाएका थिए ।
राष्ट्रपति पौडेलले शुक्रबार दलका नेताहरूसँग चुनावको तयारीबारे कुराकानी गरेका थिए । त्यसकै निरन्तरतामा शनिबार उनले जेन–जीलाई छलफलका लागि बोलाएका थिए । तर पौडेल आफैं उपस्थित हुन नसकेपछि छलफल गर्ने तयारी छ । फरक–फरक नाममा बनेका जेन–जी समूहहरूबीच एजेन्डामा समानता छैन । त्यही कारण सिंहदरबार र बालुवाटारमा हुने जेन–जी बैठकमा विभिन्न विषयमा मतभेद हुँदै आएको छ ।