काठमाडौँ, साउन २९ : युइएफए सुपर कपको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।
बुधबार राति भएको खेलमा पिएसजीले टोट्टहामलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पिएसजी भाग्यमानी बन्यो ।
पिएसजीले युइएफए च्याम्पियन्स लिग र टोट्टहामले युरो लिग विजेताको रूपमा सुपर कप खेलेका हुन् । यससँगै पिएसजीको यस वर्षको यो पाँचौँ उपाधि हो ।
टाइब्रेकरमा पिएसजीका लागि नुनो मेन्डिस, ली काङ्ग इन, ओस्माने डेम्बेले र गोन्सालो रामोसले गोल गर्नुभयो । भिटिन्हाको प्रहार विफल बनेको थियो । टोट्टनहामका पेड्रो पोरो, रोड्रिगो बेन्टानकर र डोमोनिक सोलान्केले गोल गर्नुभयो । मिकी भान डे भेन र म्याथिस टेलको प्रहार सफल भएन ।
यसअघि निर्धारित समयमा टोट्टहामले सुरुवाती अग्रता जोगाउन सकेन । मिकी भान डे भेनले ३९औँ र क्रिस्टियन रोमेरोले ४८औँ मिनेटमा गोल गर्नुभएको थियो । तर पिएसजीका लिग काङ्ग इनले ८५औँ र गोन्सालो रोमोसले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।