काठमाडौँ, साउन २६ : उपत्यकामा बिक्री हुने जारको पानीमा फिकल कोलिफर्म (दिसाका जीवाणु) जीवाणु फेला परेको छ । ललितपुरका विभिन्न स्थानमा वितरण हुँदै आएको जारको खानेपानीमा फिकल कोलिफर्म पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सङ्कलन गरेका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको जानकारी दिुनभयो । उहाँका अनुसार गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलामा वितरण हुँदै आएको जारको पानीमा परीक्षण गर्दा फिकल कोलिफर्म पुष्टि भएको हो । योभन्दा पहिले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा वितरण हुँदै आएको जारको पानीमा नियमित गुणस्तर परीक्षण गर्दा यो जीवाणु पुष्टि भएको थियो ।

फिकल कोलिफर्म सामान्यतया मानव वा जनावरको दिसामा पाउने जीवाणु हो । पानीमा फिकल कोलिफर्म पुष्टि हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन दूषित पानी सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पानी मानव जीवनको आधार भए पनि दूषित पानी सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिने गर्छ ।”
फिकल कोलिफर्मयुक्त दूषित पानी पिउँदा झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए, आउँ, झाडापखाला, हैजाजस्ता स्वास्थ्य समस्या निम्तिने डा.पुन बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “दूषित पानीमा रहेका हानिकारक जीवाणुले पेट दुख्ने, वान्ता र पखाला लाग्ने, जन्डिस हुने, कलेजोमा सङ्क्रमण हुने जस्ता स्वास्थ्य समस्या निम्तिने गर्छ ।”

लामो समयसम्म दूषित पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मिर्गौला, कलेजोलाई दीर्घकालीन असर पुर्याउने डा.पुनको भनाइ छ । बालबालिका, ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगीमा गम्भीर स्वास्थ्य समस्या निम्तिने गर्छ ।
बर्खायाममा पानीजन्य रोगबाट बच्न सतर्कता अपनाउन चिकित्सकको अनुरोध छ । बर्खामा उमालेर वा फिल्टर गरेको पानीमात्र पिउन डा.पुनको सुझाव छ । उहाँले बासी, सडेगलेका तथा झिङ्गा भन्केका खानेकुरा नखान, उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरेर पानी पिउन सुझाव दिनुभयो ।

उहाँ भन्नुुहन्छ, “बर्खामा दूषित पानीबाट हुने रोगबाट बच्न भान्छा सफा राख्ने, राम्रोसँग पाकेको खानेकुरा मात्रै खाने । भाँडाकुँडा भित्रबाहिर राम्रोसँग सफा गर्ने । खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुने । बच्चालाई खाना खुवाउने भाँडा जस्तै दुधदानी, चम्चा, कचौरा निर्मलीकरण गरेर मात्र खुवाउनुहुन्छ । ”
डा.पुनले यस्ता रोग फैलिन नदिन सरकारी स्तरबाट धारा र जारको पानीको नियमित अनुगमन हुनुपर्ने धारण व्यक्त गर्नुभयो । साथै खानेपानीको मुहान सधैँ सफा राख्न डा. पुनको सम्बन्धित निकायलाई अनुरोध छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















