07/01/2025, 14:11:03

मुख्यमन्त्री सिंहद्वारा जनकपुरधाममा सुधार केन्द्र अनुगमन


जनकपुर, १७ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज साँझ धनुषाको जनकपुरधाम—८ स्थित सुधार केन्द्रको अनुगमन गर्नुभएको छ । उहाँले नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसन सुधार केन्द्रको अनुगमन गर्नुभएको हो ।

नयाँ मुस्कानमा ७५ जना राख्ने गरी स्वीकृति पाए पनि ५० जनासम्म मात्र राख्न सक्ने संरचना रहेको र हाल १०५ जनालाई उकुसमुकुस हुनेगरी राखिएको पाइएको छ । यस्तै, शुल्क लिने कार्य पारदर्शी नरहेको, क्षमताअनुसार कोठा र तिनको व्यवस्थापन नगरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले सो केन्द्रका सञ्चालकलाई तत्काल सुधार केन्द्र व्यवस्थित गर्न र केन्द्रमा रहेकाहरूलाई उचित व्यवस्था गर्न निर्देशन दिनुभयो ।

यस्तै, किशोरी फाउन्डेसनको सुधार केन्द्रमा राखिएकाको अवस्था पनि दयनीय रहेको पाइएको मुख्यमन्त्री सिंहले बताउनुभयो । यहाँ पनि एउटै कोठाभित्र धेरैलाई राख्ने गरिएको र खाना गुणस्तरीय नरहेको पाइएको उहाँको भनाइ छ । उक्त केन्द्रका सञ्चालकलाई पनि तत्काल आवश्यक सुधार गरी जानकारी गराउन निर्देशन दिएको छ ।

सुधार केन्द्रलाई यातनागृह जस्तो नभई सभ्य नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्न र सरकारी मापदण्डअनुरूप सबै सुविधा व्यवस्थापन सञ्चालकलाई सचेत गराइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ