12/19/2025, 15:33:39
शुक्रबार, पुष ०४, २०८२

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


जनकपुर, पुस ४ : मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार अपराह्न विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए ।

सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिँदैछन् ।

– अजित तिवारी