04/20/2025, 15:14:23

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते


इटहरी (सुनसरी), ७ वैशाख : धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । चालक र बस्नेतको अवस्थामा सामान्य रहेको छभने कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित बिराट मेडिकल कलेजमा रेफर गरिएको छ ।

त्यसैगरी, सुर्खेतमा फोर्स गाडीको ठक्करबाट आज विहान एक पैदलयात्रीको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०१–००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ