काठमाडौँ, २३ फागुनः राष्ट्रियसभा सांसदहरुले सडक र पुल निर्माणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले गर्मीको मौसममा देशका विभिन्न स्थानमा आगलागीका घटना बढ्दै गएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तराई–मधेसमा यही फागुनको पहिलो हप्तामा मात्रै आगलागीका कारण एक जनाको निधन र दुई जना घाइते भएका उहाँको भनाइ छ । आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको सांसद दाहालले उल्लेख गर्नुभयो ।
सांसद डा वेदुराम भुसालले सरकार संसद्प्रति उत्तरदायी नभएको, संसद्मा उठेका विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “सरकार संसद्प्रति उत्तरदायी देखिएको छैन, संसद्मा उठेका विषयलाई गम्भीरतापूर्वक लिने र सम्बोधन गर्ने काम भएको छैन । यसमा म ध्यानाकर्षण गराउन चाहन्छु ।” अन्यायका विरुद्ध माइतीघर मण्डलामा ३२ दिनदेखि धर्नामा बसिरहेका स्वर्गद्वारी गुठीपीडित किसानको समस्या समाधन गर्नेतर्फ सरकारले चासो नदेखाएकाबारे पनि उहाँले धारणा राख्नुभयो ।

सांसद भगवती न्यौपानेले तनहँु र चितवन जोड्ने बुद्धसिंह मार्गस्थित घुमाउरो भन्ने ठाउँमा पुल निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । पुल निर्माणका लागि २०७१ सालमा रु नौ करोड ५६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको भन्दै छिटो काम गर्ने अवस्था बनाउनका लागि आग्रह गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













