चितवन, २३ फागुनः यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका हुन् ।
आदर्श नारी विकास केन्द्रको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरबाट बिरामी माइजूलाई उपचारका लागि ल्याउनुभएकी मनमती भट्ट क्यान्सरको उपचार महँगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई अस्पतालले दिने सुविधाका बारेमा जानकारी छैन । उपचार सहज हुनु प¥यो ।” अस्पतालमा उपचारका लागि भर्ना गरिएका बिरामीहरुप्रति स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार राम्रो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सिरहाबाट आएर विगत चार महिनादेखि उपचार गराउँदै आउनुभएकी राजकुमारी सुनुवार ‘किमो’ लगाउने पालो कुरेर बसी राख्नुभएको छ । आइतबार किमो लगाउने पालो भए पनि बिहीबारदेखि नै अस्पतालमा भर्ना भएर बस्नुभएकी सुनुवार किमो नपाएर समस्या भएको गुनासो गर्नुहुन्छ ।
उहाँले थप्नुभयो, “बिमाबाट पाउनुपर्ने औषधि पाउन सकिएको छैन । बाहिर किन्दा महँगो पर्छ ।” रगत पाउन मुस्किल पर्ने गरेको उहाँको भनाइ छ । यस अस्पतालमा नेपालसहित छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरु आउने गर्दछन् । विगतमा बिरामीले निकै दुःख पाउने गरेको भए पनि पछिल्ला दिनमा केही सहज बन्दै भने गएको छ । यद्यपि स्रोत, साधन र जनशक्तिको अभावमा बिरामीको अपेक्षाअनुसार चाहेजस्तो सेवा दिन कठिन भएको अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै सहज बन्दै गएको छ । सेवाग्राहीले अपेक्षा गरेजस्तो बनाउने प्रयासमा छौँ ।”
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, क्यान्सर बिजेता बन्दना खाँडलगायतले बालबालिका र महिलाहरुको उपचारमा सहजीकरण गर्न आवश्यक रहेको बताउनुभएको थियो । बिरामीलाई सान्त्वना दिन सकेमा उपचारमा सहज हुने उहाँहरुको भनाइ थियो । आदर्श नारी विकास केन्द्रकी अध्यक्ष मीना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गराई रहनुभएका ३०० बढी बिरामीलाई फलफूल वितरण गरिएको थियो ।