चितवन, २३ माघ : रवि लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा रवि लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरू भएको हो । मुद्दामा वादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
त्यसैगरी जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि बुधबारको बहस पूरा भएको छ । जाहेरवालाका तर्फबाट एकजना वरिष्ठ अधिवक्तासहित चारजनाले बहस गर्दैछन् । प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन् । बाँकी कानुन व्यवसायीहरूको बहस बिहिबारबाट फेरि सुरू हुने अदालतका सूचना अधिकारी विश्वकर्माले बताए ।