सोमबार, माघ २१, २०८१

समस्या सङ्घीयतामा हैन, सङ्घीयता कार्यान्वयन गर्ने भूमिकामा रहेकाहरूमा छ : राष्ट्रियसभा अध्यक्ष दाहाल


काठमाडौँ, २१ माघः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको सेवा प्रवाह प्रभावकारी नहुँदा सङ्घीयतामा असन्तुष्टि बढेको बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘सरोकार दर्पण’ पुस्तक विमोचन कार्यक्रममा उहाँले संविधान कार्यान्वयनका लागि हरेक गतिविधिमा भइरहेको ढिलाइले जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले कानुन निर्माणको सवालमा सांसद स्वयं पनि असन्तुष्ट रहेको बताउनुभयो । राजनीतिक नेतृत्व आफनो भूमिकामा चुकेकै कारण नागरिकमा असन्तुष्टि उत्पन्न भइरहेको उहाँको भनाइ थियो । “अहिले जनस्तरमा सङ्घीयताप्रति नकारात्मकता सोचाइ बन्दै गएको हो कि भन्ने छ । सङ्घीयता आफैँमा गलत होइन, सङ्घीयताका सिद्धान्त आफँैमा गलत छैनन्”, अध्यक्ष दाहालले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनको भूमिकामा रहेका हामीहरूले नै समयमा त्यो भूमिका निर्वाह गर्न नसक्दा यस्तो सोच बन्दै गएको हो कि भनेर समीक्षा आवश्यक छ । राजनीतिकर्मीले आफूले गरिरहेको भूमिकाको समीक्षा गर्न लागेमा ठिक दिशाबाट पुग्न सक्छौँ भन्ने मलाइ लाग्छ ।” उहाँले संसदीय समितिले पनि जनउत्तरदायी बन्ने हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले सरोकार दपर्ण पुस्तकले संसदीय समितिको कार्यकालमा सम्पन्न गतिविधि, प्राप्त उपलब्धि, देखिएका समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यमा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विभिन्न संवैधानिक निकायबाट प्राप्त प्रतिवेदनमाथि समितिमा गम्भीर छलफल गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीयतामाथि उठेका प्रश्नको उत्तर दिनका लागिसमेत यस्ता प्रतिविदेनमाथि छलफल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणका क्रममा आइपरेका चुनौति र समस्या समाधानका लागि संसदीय समितिले मार्गनिर्देश गर्ने अपेक्षा व्यक्त गर्नुभयो । संसद् र संसदीय समितिप्रति आफू र मन्त्रालय जवाफदेही रहेको भन्दै उहाँले प्राप्त निर्देशन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पुरातत्व, वन र नदीलगायत प्राकृतिक सम्पदा जोगाउने कि विकास गर्ने ? भन्ने विषयमा धेरै ठुलो मतभेद देखिन्छ । यसलाई सन्तुलनको खाँचो छ”, मन्त्री पाण्डेले भन्नुभयो, “त्यो सन्तुलन पनि लहडका भरमा हुँदैन । अध्ययन र अनुसन्धान, तथ्य र तथ्याङ्कका आधारमा संसद् र समितिले सरकारलाई मार्गनिर्देश गर्नुपर्छ भन्ने लाग्दछ ।

संविधानसभा सदस्य राधेश्याम अधिकारीले संसदीय समितिलाई पुस्तकालय र अध्ययन एवं अनुसन्धानको आवश्यकता औँल्याउदै त्यसका लागि बजेट व्यवस्थापनमा सुझाव प्रस्तुत गर्नुभयो । राष्ट्रिय सरोकार तथा समन्वय समितिका पूर्वसभापति दिलकुमारी रावल थापा (पार्वती)ले यस समितिको दस्ताबेजका रूपमा पुस्तक प्रकाशन गरिएकोे बताउनुभयो । उहाँले यस अभ्यासले संसदीय कामलाई संस्थागत अभिलेखिकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त पुस्तकमा पहिलो छ वर्षको अवधिमा समितिबाट सरकारको निगरानी, सङ्घीयता सवलीकरणलगायत कामकारबाही एवं समितिका सदस्यका अनुभव र सान्दर्भिक लेख समावेश गरिएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading