काठमाडौँ, २० माघ : सङ्गीतका उच्च व्यक्तित्वहरू आइतबारको ग्रामी पुरस्कारका लागि लस एन्जलसमा भेला भइरहेका छन् । साथै बियोन्सेको नाम सबैको जिब्रोमा छ : के रेकर्डिङ एकेडेमीका मतदाताहरूले अन्ततः यी मेगास्टारलाई उहाँको योग्यता अनुसारको सम्मान दिनेछन् ?
उहाँ इतिहासकै सबैभन्दा बढी सुशोभित ग्रामी कलाकार हुनुहुन्छ तर आफ्ना स्टुडियो एल्बमहरूका लागि चार पटक मनोनयनमा परे पनि बियोन्सेले कुख्यात रूपमा वर्षको एल्बमको प्रतिष्ठित पुरस्कार कहिल्यै जित्नुभएको छैन । र पुरस्कार समारोहको ६७औँ संस्करणले अन्ततः यो विरोधाभासलाई समाप्त पार्न सक्छ ।
तर उहाँको चर्चित एल्बम ‘काउब्वाइ कार्टर’ ले बिली आइलिश र टेलर स्विफ्ट जस्ता नियमित विजेताहरूका साथै च्यापल रोन, साब्रिना कार्पेन्टर र चार्ली एक्ससीएक्स जस्ता चर्चित पप हिटमेकरहरूको कामबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ ।
उच्च–शक्तिको स्टार पावर भए पनि सामान्यतया उद्योग पार्टी र प्रदर्शनहरूले भरिएको ग्रामी हप्ताले सामान्यभन्दा बढी गम्भीर स्वरूप लिएको छ किनकि मनोरञ्जन राजधानी केही हप्ताअघि मात्र पूरै छिमेकहरूलाई तहसनहस पार्ने घातक डढेलोको परिणामबाट उठ्दैछ ।
आयोजकहरूले सहायता कोष जुटाउने र पहिलो प्रतिकार्यकर्ताहरूसँगै प्रभावित उद्योगका सदस्यहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने नयाँ मिसनका साथ चमकदमकले भरिएको पुरस्कार कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् ।
शुक्रबार वार्षिक म्युजिकेयर्स गालाले एकै साँझमा चार करोड ५० लाख डलरभन्दा बढी जुटायो र संस्थानको कूल रकम चार करोड ९० लाख डलरभन्दा बढी पुर्याएको छ । वार्षिक म्युजिकेयर्स गाला यस वर्ष साइकेडेलिक जाम ब्यान्ड द ग्रेटफुल डेडलाई सम्मान गरेको छ ।
रेकर्डिङ एकेडेमीको परोपकारी शाखा म्युजिकेयर्सको व्यापक मिसनमा प्रकोप राहतदेखि मानसिक स्वास्थ्य सहयोगसम्म सबै कुराका लागि अस्थिर अमेरिकी सङ्गीत उद्योगका कलाकार र अन्य कर्मचारीहरूलाई प्यारासुट प्रदान गर्ने समावेश छ ।
डढेलो राहतको अचानक आवश्यकताले त्यो मिसनमाथि प्रकाश पारेको छ र उद्योगका अन्य व्यक्तिहरूले पनि फिर्ता दिन उनीहरूको नेतृत्व लिएका छन् ।
सङ्गीत पावरब्रोकर इर्भिङ एजोफले कन्सर्ट प्रमोटरहरू लाइभ नेसन र एइजी प्रेजेन्ट्ससँग मिलेर बिहीबार लेडी गागा, इलिश, डा ड्रे र जोनी मिचेल जस्ता प्रमुख स्टारहरूसहित विशाल लाभ कन्सर्टको आयोजना गर्नुभयो ।
व्यवसायमा सबैभन्दा प्रतिष्ठित टिकटहरू मध्ये एक शनिबारको वार्षिक क्लाइभ डेभिस गाला पनि कोष सङ्कलन तत्व समावेश गर्न तय गरिएको छ ।
– बियोन्सेको समय ? –
बियोन्सेले वर्षौंदेखि उद्योग परिवर्तन गर्ने, संस्कृति हल्लाउने काम गर्नुभएको छ तर उत्कृष्ट एल्बम र उत्कृष्ट रेकर्डका लागि प्रमुख ग्रामी पुरस्कारहरूबाट बारम्बार र स्पष्ट रूपमा बाहिर राखिनु मतदाता निकायको प्रमुख क्षेत्रहरूमा अश्वेत कलाकारहरूको कामलाई किनारा लगाउने प्रवृत्तिको सबैभन्दा स्पष्ट उदाहरणका रूपमा लिइन्छ ।
प्रभावशाली पप स्टार स्विफ्टले रेकर्ड चार पटक वर्षको एल्बम ट्रफी जित्नुभएको छ । यो सबै अश्वेत महिलाहरूले जितेको भन्दा बढी विजय हो ।
त्यसो गर्ने अन्तिम व्यक्ति सन् १९९९ मा लौरिन हिल हुनुहुन्थ्यो । उहाँभन्दा पहिले सन् १९९४ मा ह्विटनी ह्युस्टन र सन् १९९२ मा नताली कोलले जित्नुभएको थियो ।
बियोन्सेको महत्वाकांक्षी ‘काउब्वाइ कार्टर’ को यस वर्षको मनोनयनले यस मुद्दालाई तीव्र फोकसमा ल्याएको छ । यसले त्यस विधामा अश्वेत कलाकारहरूको समृद्ध तर कम चर्चित इतिहासलाई चित्रण गरेर कन्ट्री उद्योगलाई चुनौती दिएको थियो ।
तर ग्रामीहरू ग्रामी नै हुन् – जसको अर्थ जे पनि हुन सक्छ । नतिजा जे भए पनि सोमबार बिहान विचार लेखहरू आउनेछन् ।
– सर्वोत्कृष्ट नयाँ कलाकारहरूले मञ्च सम्हाल्दै –
हिप–हप पुरस्कार विजेता केन्ड्रिक लामार आइतबार हेर्नका लागि अर्को ठूलो नाम हो । ड्रेकसँगको उहाँको र्याप युद्धले ‘नट लाइक अस’ जन्मायो । यो वर्षको सबैभन्दा भाइरल गीतहरू मध्ये एक हो जसले उहाँलाई मनोनयन दिलायो ।
हालै बियोन्से र स्विफ्ट दुवैसँग काम गर्नुभएका पोस्ट मलोनले आठ मनोनयन पाउनुभयो र दुवैसँग शीर्ष श्रेणीहरूमा पुरस्कार जित्ने मौका छ ।
नजिकबाट हेरिएको सर्वोत्कृष्ट नयाँ कलाकार प्रतिस्पर्धामा कार्पेन्टर र रोन प्रमुख दाबेदार हुनुहुन्छ । उहाँहरू दुवै गत वर्ष मूलधारमा छिटो उदाउनुभएको थियो ।
विशेष गरी रोनले अत्यन्त तीव्र उदय अनुभव गर्नुभयो र धेरै समीक्षकहरूले उहाँलाई सर्वोत्कृष्ट रेकर्ड र सर्वोत्कृष्ट गीतका लागि जित्ने नामको रूपमा सुझाएका छन् ।
प्रतिस्पर्धामा शाबोजी पनि हुनुहुन्छ । उहाँको हिट ‘ए बार सङ (टिप्सी)’ ले हप्तौँसम्म अमेरिकी हट सङ्स चार्टमा शीर्ष स्थान हासिल गर्यो र गीत लेखनलाई सम्मान गर्ने वर्षको गीत ग्रामीको लागि पनि मनोनीत छ ।
चौरानब्बे ग्रामीमध्ये सानो अंश मात्र गालाको टेलिभिजनमा प्रसारित हुने प्रमुख भागमा वितरण गरिन्छ । साँझको अधिकांश समय प्रदर्शनमा समर्पित हुन्छ ।
इलिश, रोन, चार्ली एक्ससीएक्स र कार्पेन्टर लगायत कलाकारहरू मञ्चमा आउनुहुनेछ । साथै डोची, राय, टेडी स्विम्स र बेन्सन बून जस्ता सर्वोत्कृष्ट नयाँ कलाकार प्रतियोगीहरूसँगै मञ्च लिने तय छ ।
लेजेन्ड स्टेभी वन्डर र हर्बी ह्यान्कक पनि गाला समयमा देखा पर्नुहुनेछ । उहाँहरूले स्वर्गीय सुपर–निर्माता क्विन्सी जोन्सलाई श्रद्धाञ्जलि दिनुहुनेछ ।