04/19/2025, 15:04:01

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन


भोजपुर, १५ माघः ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)ले २० किसानलाई एकमहिने (१६० घण्टे) पशु स्वास्थ्यसम्बन्धी अभ्यासमूलक प्रशिक्षण दिएको हो ।

एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रमपश्चात सहभागी किसानले आफ्नो क्षेत्रमा दक्ष ढङ्गले काम गर्न सक्ने सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताउनुभयो ।

प्रशिक्षणका क्रममा सहभागी किसानलाई पशुमा लाग्ने रोग, उपचार पद्धति, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोप प्रयोग विधिको विषयमा अभ्यास गराएर आवश्यक सीप दिएको प्रमुख ठाकुरले जानकारी दिनुभयो । स्थानीय किसानका माग र यहाँको आवश्यकतालाई ध्यानमा राखेर पहिलोपटक सदरमुकाममा यस प्रकारको तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । तालिम लिएकालाई योग्यताको प्रमाणपत्र दिइने उहाँको भनाइ छ ।

यहाँका धेरै किसान पशुपालन व्यवसायमा जोडिएका छन्”, प्रमुख ठाकुरले भन्नुभयो, “तर उनीहरुमा पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी नहुँदा धेरै समस्या छ । जनशक्ति अभावमा राज्य तहका पशु प्रविधिक सबै ग्रामीण भेगमा पुगेर सेवा प्रवाह गर्न नसकिरहेको अवस्था पनि छ । पशु स्वास्थ्यलाई सहज रूपमा विस्तार गर्ने लक्ष्यले एकमहिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर सीप प्रदान गरेका छौँ ।

जिल्लाका अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएको भए पनि पशुमा लाग्ने सामन्य रोग तथा उपचार पद्धतिको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको छ । स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै सिटीइभिटी र भोजपुर नगरपालिकाको सहकार्यमा एकमहिने सामुदायिक पशु सेवा सहायकको तामिल सञ्चालन गरिएको भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालले बताउनुभयो । यहाँ उत्पादन भएका जनशक्तिले भावी दिनमा सहज रूपमा ग्रामीण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने उहाँको भनाइ छ ।

आफूले वर्षौँबाट पशुपालन गरिरहेको भए पनि पशुमा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या रहेको अवस्थामा एकमहिने तालिम पाएपछि सहजता भएको सहभागी स्थानीय किसान मोहनप्रसाद ढकालले जानकारी दिनुभयो । एक महिनासम्म पशु स्वास्थ्यको विषयमा अभ्यासमूलक सीप लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । तालिममा सहभागी भए पनि गाउँघरमा पुगेर उपचार गर्न सक्ने भएको उहाँको भनाइ छ ।

लामो समयबाट पशुपालन गरिरहेको थिएँ”, उहाँले भन्नुभयो, “मलाई पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी थिएन । पशु बिरामी हुँदा सहज सेवा पाउन सकिरहेका थिएनौँ । अहिले आफैँले तालिम लिने अवसर पाएँ, धेरै खुसी लागेको छ । यस्ता सीपमूलक कार्यक्रम अन्य किसानसम्म पनि पुर्याउन आवश्यक छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..