सोमबार, पुष ०८, २०८१

एनपीएल : चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सको पहिलो जित


काठमाडौँ, २१ मङ्सिरः  चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो।

एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो। कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो।

चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि ओपनर शिखर धवन र देव खनालले ९.५ ओभरमा ५३ रनको साझेदारी गरे। ३४ बलमा १ चौका र १ छक्का हानेका देव २५ रन बनाउँदा चितवनका कप्तान कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे।

दोस्रो विकेटका लागि धवन र चान्डविक वाल्टनले ५१ रनको साझेदारी गरे। ४१ बलमा ४ चौका र १ छक्का हानेका धवन ४५ रन बनाउँदा जान निकोल लफ्टी इटोनको बलमा कट एण्ड बोल्ड भए। चान्डविक वाल्टन १९ बलमा ३ छक्कमा सहयोमा ३० रन बनाउँदा रवि बोपाराको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन घर्ती ११ रनमा रनआउट भए। जिसन मक्सुद १२ र गुल्सन झा शुन्य रनमा नटआउट रहे। चितवनका लागि कुशल मल्ल, लफ्टी इटोन र रवि बोपाराले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो। रवि बोपारा ५९ र शरद भेषावकर ६ रनमा अविजित रहे। रविले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे। चौथो विकेटका लागि रवि बोपारा र कप्तान कुशल मल्लले ६० रनको साझेदारी गर्दै चितवनको इनिङ्स उकासेका थिए। चितवन एक समय ५.१ ओभरमा ३–२२ को अवस्थामा थियो। २७ बलमा २ चौका र १ छक्का प्रहार गरेका कप्तान कुशल २३ रन बनाउँदा मक्सुदको बलमा गुल्सन झाको हातबाट क्याच आउट हुन पुगे। ओपनर लुक वेनेकेनस्टाइन शुन्य रनमा नै सोमपाल कामीको बलमा बोल्ड आउट भए।

अर्का ओपनर दिपक बोहोरा ८ रन बनाउँदा नन्दन यादवको बलमा देव खनालको हातबाट क्याच आउट भए। विपिन रावल ११ रन बनाउँदा जिसन मक्सुदको बलमा बोल्ड आउट भए। अमर राउटेला विपिन कै बलमा बोल्डआउट भए। जान निकोल लफ्टी इटोन ९ रन बनाउँदा विपिन शर्माको बलमा एलबीडब्लु धरापमा परे। सोहेल तनविर शुन्य रनमा नै शर्माको बलमा बोल्ड आउट भए। कर्णालीका लागि विपिन शर्माले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २१ रन खर्चे। जिसन मक्सुदले २ विकेट लिए। सोमपाल कामी, नन्दन यादवले समान एक विकेट आफ्नो नाममा गरे।

आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। पोखरा तेस्रो खेलमा पहिलो जितको खोजीमा छ। लुम्बिनी भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ। चितवनका सोहेल तनविर पहिलोपटक विकेटविहीन बन्नपुगे।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading