11/21/2025, 13:28:02
शुक्रबार, मङि्सर ०५, २०८२

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै


पाल्पा, मङ्सिर ५ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा  ३ भुवनपोखरी गोखुङ्गा रैनादेवी मन्दिर परिसरमा  यही मंसिर ७ र ८ गते न्वागी मेला हुँदैछ ।  यस वर्ष कार्तिक २७ गते देवीको लागि मुठी लिएको र मंसिर ७ गते साढे  ९ बजेभित्र पूर्व फर्केर रैनादेवीलाई नयाँ धानको अक्षेता चढाउने कार्यक्रम रहेको छ ।

परम्पराकालदेखि नै पश्चिम पाल्पा, पूर्वी अर्घाखाँची, दक्र्षिण गुल्मीका जनताले रैनादेवी भगवतीलाई  उत्पादन गरेको  नयाँ धान, चामल चढाएर मात्र खाने दिनलाई न्वागी पर्वको रुपमा मनाउने प्रचलन रहँदै आएको छ । यस क्षेत्रमा परापूर्वकालदेखि नै  देवीलाई धान चामल चढाउने, पूजा पाठ गर्ने, स्तुती गान गर्ने र सोही रातीदेखि  नै देवी मन्दिर परिसरमा आ–आफ्नो जात जातिको कला संस्कृति प्रस्तुति गरी देवीलाई खुसी पार्ने चलन रहेको छ । पश्चिम पाल्पामा नयाँ धान भित्राएपछि लामाधामीले देवीसँग सोधी दही चामल सिलाम केरा महलगायतका बस्तु देवीलाई अर्पण गरेपछि मात्र, आमरुपमा  उपभोग गर्ने चलन रहेको छ । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास स्वरुप पश्चिम पाल्पाका जनताले  परम्पराकालदेखि नै न्वागी पर्वलाई  उत्सवको रुपमा मनाउँदै आएका छन् । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृति, जीवन पद्धती, कृषक तथा कला संस्कृतिसँग गासिएको छ ।

न्वागी पर्वको अवसर पारेर रैनादेवी छहरा गाउँपालिका ३ नं. वडा कार्यालय र रैनादेवी मन्दिर व्यवस्थापन समितिले रैनादेवी मन्दिर परिसरमा आएका भक्तजन तथा अतिथिहरुलाई नयाँ धानको  दही र चामल खुवाउने र   पालिकास्तरीय मौलिक कला संस्कृतिसहितको विभिन्न किसिमका परम्परागत मौलिक कला संस्कृति तथा  नाच प्रदर्शन गरिने वडाध्यक्ष प्रदिप पौडेलले जानकारी दिए ।

रैनादेवी मन्दिर परिसरमा लोपोन्मुख  पञ्चेवाजा, सोरठी, मालश्री, ठुलो नाच, रत्यौली, झाम्रे चुडका, लाखे, कौडा मारुनी जस्ता विभिन्न जात जातिका स्थानीय मौलिक कला संस्कृतिसहितको  प्रतियोगिता सञ्चालन गरिने वडा अध्यक्ष पौडेलले बताए ।
स्थानीय मौलिक कला संस्कृतिलाई जोगाउन, स्थानीय कला संस्कृतिलाई बचाउन, स्थानीयस्तरमा कलाकार उत्पादन गर्न पालिकास्तरीय कला संस्कृति प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गगत भट्टराईले बताए । पालिकाको नाम समेत यसै मन्दिरबाट भएको, पालिका भित्रका हरेक वडा तहका धार्मिक आस्थासँगै कला संस्कृति जर्गेना गर्ने काममा पालिका लागिपरेको  गाउँपालिकाका अध्यक्ष  भट्टराईले बताए ।

मौलिक कला संस्कृति प्रतियोगितामा  प्रथम हुनेलाई १५ हजार,  दोस्रो हुने टोलीलाई १२ हजार, तेस्रो नाचलाई १० हजार र  सहभागी सबै टोलीहरुलाई ५ हजारका दरले पुरस्कारको व्यवस्था रहेको रैनादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपालसिंह खाम्चाले जनाए ।

रैनादेवी मन्दिर विषयमा अनौठो परम्परागत मान्यता रहेको छ । हालको रैनादेवी मन्दिर भएको जंगल न्यौपाने बाहुनको बारी रहेको थियो ।  गाईले दैनिक रुपमा दूध नदिएपछि, न्यौपाने बाहुन र छहरी मगरले गाईको पिछा गर्दै जाँदा बारीको बिचमा  सुनको मौलोमा दूध चढाइरहेको देखेपछि  दुवै जनाले सुनको मौलो खन्दै जाँदा तल तल  भासिदै गयो । सुनको टाउको  भाचेर भए पनि लैजान्छु भनी कोदालोको  पासोले हान्दा रगताम्य भई रुदै देवी उत्पन्न भएको भनाइ रहेको छ । देवी  भागेर अन्य स्थान जाँदै गर्दा दर्लामी र सोमै मगरले रोकी पूजाआजा सुरु गरेको भनाइ रहँदै आएको छ । आमरुपमा  रोइन देवी, रोइन देवीभन्दा भन्दै अपभंश भई रैनादेवी हुन गएको बुढापाकको भनाइ रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..