11/14/2025, 21:04:26
शुक्रबार, कार्तिक २८, २०८२

एनपीएल पहिलो दिनको टिकट ‘सोल्ड आउट’


काठमाडौँ, कात्तिक २८ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् ।

क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले पनि शुक्रबार दिउँसोसम्म प्रिमियम र साधारण दुवैतर्फको सम्पूर्ण टिकट बिक्री भएको बताए । उनले पहिलो पटक (सिजन-१) को तुलनामा यसपटक अलि ढिलो गरी टिकट सोल्ड आउट भएको बताए ।

गत सिजनको अनुभव सुनाउँदै खड्काले भने, ‘पहिले टिकटहरू दुई घण्टा वा तीन घण्टामै सकिन्थ्यो भने यस पटक चाहिँ करिब २४ घण्टामा सोल्ड आउट भयो । यसले खेलप्रति दर्शकको आकर्षण र उत्साह कायमै रहेको देखाउँछ ।

अत्यधिक ट्राफिक र मागलाई मध्यनजर गर्दै यस सिजनका लागि खल्तीले आफ्नो सर्भर क्षमता बढाएको खड्काले बताए । ‘यस पटक कीर्तिपुर मैदान अलि अर्गनाइज्ड भएको छ,’ उनले भने, ‘पहिला कम्पाउन्ड नहुँदा र मान्छेहरू जथाभावी छिरेका थिए भने अहिले सिट अरेन्जमेन्टहरू व्यवस्थित भइसकेका छन् । पहिले खुला चौरमा उभिएर वा बसेर हेर्नुपर्ने भएकाले व्यवस्थापन गाह्रो थियो ।

अहिले सिट संख्या निश्चित भएकाले टिकट बिक्रीमा पनि सहजता भएको उनको अनुभव छ । खड्काका अनुसार क्यानले खल्तीलाई करिब ८ हजार टिकट बेच्न दिएको छ भने २ हजारजति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजक लगायतका लागि छुट्याइएका हुन्छन् ।

कुन टिकटको मूल्य कति ?

सोमबारबाट एनपीएल सुरु हुँदै छ । साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्ले अफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।