10/27/2025, 18:54:54
सोमबार, कार्तिक ११, २०८२

ट्रम्पको घोषणा : सन् २०२८ पछि पनि उपराष्ट्रपति पदको प्रतिस्पर्धा गर्दिन

©WASHINGTON, DC - JANUARY 20: President Donald Trump signs executive orders in the Oval Office on January 20, 2025 in Washington, DC. Trump takes office for his second term as the 47th president of the United States. (Photo by Anna Moneymaker/Getty Images)

एयर फोर्स वन, कात्तिक १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्टरूपमा घोषणा गर्नु भएको छ ।

यो घोषणा उहाँका केही समर्थकले कार्यकाल सीमा हटाई ट्रम्पलाई निरन्तर शासन गर्न दिनुपर्ने सुझाव दिइरहेका बेला आएको हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालमा सीमित गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नु भएको हो ।

तथापि, उहाँका केही कानूनी सल्लाहकार र कट्टर समर्थकले संवैधानिक सीमालाई बाइपास गर्ने उपायस्वरूप ट्रम्पले सन् २०२८ मा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्ने र पछि शीर्ष पदमा पुनः फर्कन सक्ने सुझाव दिएका थिए । तर एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ती अड्कलबाजी अस्वीकार गर्दै भन्नुभयो, “मलाई थाहा छ, कानूनीरूपमा म त्यसो गर्न सक्ने थिएँ, तर म त्यसो गर्दिन । मलाई यो अहिलेको जस्तै सुन्दर र सही लाग्छ ।”

सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरिसकेका ट्रम्पले प्रायः आफ्ना समर्थकले संवैधानिक सीमाको बाबजुद उहाँलाई निरन्तर शासन गर्न आह्वान गरिरहेको विषयमा खुलेर बोल्दै आएका छन् । हालै उहाँले ओभल अफिसको कार्य टेबलमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी पनि प्रदर्शित गर्नु भएको थियो, जसले पुनः सत्ता वापसीको अड्कलबाजीलाई थप बल दिएको थियो ।

यसबिच, उहाँका समर्थकबिच फैलिएको एउटा लोकप्रिय धारणा अनुसार हालका उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्नु हुने छ । यदि उहाँले जित्नुभयो भने, केही समर्थकले उहाँले छिट्टै राजीनामा दिने र ट्रम्पलाई पुनः ह्वाइट हाउसमा फर्काउने योजना रहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी उहाँका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख विचारक स्टिभ बेननले गरेको अभिव्यक्तिपछि आएको हो । बेननले हालै द इकोनोमिस्टसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, “ट्रम्पले तेस्रो कार्यकालका लागि तयारी गरिरहनुभएको छ । सन् २०२८ मा उहाँ फेरि राष्ट्रपति हुनु हुने छ र मानिसले त्यसको लागि तयार रहनुपर्छ ।”

संविधानको २२ औँ संशोधनले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकेको प्रसङ्ग उठाउँदा बेननले उत्तर दिनुभएको थियो, “त्यहाँ धेरै फरक विकल्प छन् । उचित समयमा हामी हाम्रो योजनाबारे स्पष्ट रूपमा बताउनेछौँ ।”


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..