10/08/2025, 22:23:45
बुधबार, असोज २२, २०८२

असोज ३० गते राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग


काठमाडौँ, असोज २२ : निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले असोज ३० गते छलफलका लागि राजनीतिक दललाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘‘निर्वाचनको तयारीका लागि आयोगले संवाद गरिराखेको छ । विभिन्न कोणबाट भइरहेका संवादको अतिरिक्त हामीले असोज ३० गते निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि हामीले निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि आह्वान गरिसकेका छौँ । हामीले पत्र पठाइसकेका छौँ ।’’

प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुन चाहनेले कात्तिक मसान्त अगावै दल दर्ता गर्नुपर्ने जानकारी दिनुभएको छ । फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । ‘‘नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्छ ।’’

आयोगमा १२२ वटा दल दर्ता भएका छन् । ‘‘अहिले आयोगमा दर्ता कायम भएका १२२ वटा दल रहेका छन् । यसका अतिरिक्त नयाँ दल दर्ता भइरहेका छन् । कात्तिक मसान्त अगाडि दर्ता भएको, प्रमाणपत्र लिएको, निर्वाचनमा आफ्नो घोषणापत्र र कार्यक्रममार्फत् सरिक हुन चाहने दलले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।’’

प्रमुख आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि स्रोतको सुनिश्चिता हुन्छ भन्ने विश्वास सरकारले दिलाएको समेत जानकारी गराउनुभयो । उहाँले सुरक्षा निकायले चाहेमा निर्वाचनको सुरक्षा चुनौती नहुनेसमेत प्रष्ट पर्नुभएको छ ।

गोरखापत्र संस्थानका पदाधिकारीसँग छलफल 

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले निर्वाचनको तयारीका विषयमा गोरखापत्र संस्थानसँगसमेत छलफल गरेका छन् । गोरखापत्रसँगको छलफलमा प्रमुख आयुक्त भण्डारी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, प्रवक्ता नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।

छलफलमा प्रमुख आयुक्त भण्डारीले निर्वाचनको वातावरण बनाउन आयोग सक्रिय रहेको जानकारी गराउनुभयो । उहाँले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आयोग सक्रिय रहेको प्रष्ट पार्नुभयो ।

आयुक्त तुलाधरले अनलाइनबाट फारम भरेर जुनसुकै निर्वाचन कार्यालयमा गएर फोटो खिच्न र बायोमेट्रिक दिन सकिने भन्दै मतदाता नामावलीमा कात्तिक मसान्तसम्ममा नाम दर्ता गर्ने जस्ता विषयलाई अहिले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्र संस्थानको तर्फबाट महाप्रबन्धक लालबहादुर ऐरीले आयोगसँग निर्वाचन तयारी, प्रचारप्रसार र निर्वाचन सफल बनाउन गोरखापत्र संस्थानको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।

छलफलमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपाल दैनिकका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, डिजिटल प्रमुख नारदमुनि गौतम, प्रशासन विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठ, उत्पादन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल, निमित्त निर्देशक ताराबहादुर बस्याल, अर्थ विभाग प्रमुख राजुकुमार महत, व्यापार विभाग प्रमुख गङ्गबहादुर पन्थीलगायतको उपस्थिति थियो ।

– गोरखापत्र दैनिक