डडेल्धुरा, साउन १९ : यहाँका थुम्का थुम्काका देउताको दसैँमा हुने पूजा सकिएका छन् । अब तिहारपछि वार्षिक पूजा हुनेछन् । सुदूरपश्चिमका जिल्लामा ढुङ्गालाई देउता मानेर पूजाआज गरी देउताका धामीबाट होम गरे पछिको कालो टीका (तिलक) र अक्षता सहितको रातो टीका र जमरा लगाई दसैँ मनाउने धार्मिक परपम्परा रहिआएको छ ।
घटस्थापनाका दिन आफ्ना कुल देउताका मन्दिरमा जमरा राखेर नवरात्र गरेर देउताको पूजा र होम गरिन्छ । अष्टमी र दसैँका दिन यहाँका प्रायः मन्दिरमा पूजाआजासँगै राँगा, बोकाको बलि दिने प्रचलन रहिआएको पण्डित करुणाकर भट्टले बताउनुभयो । डडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङ्लाशैनी, मेलौली र डोटीको शैलेश्वरी भगवतीमा महाअष्टमीका दिन पूजाआजा सहित राँगाबोकाको बलि दिने चलन रहेको छ ।
अछामको वैद्यनाथदेखि दार्चुलाको मालिकार्जुनसम्म दशैँका दिन सबै जिल्ल्लाका शक्तिपीठ र देवस्थल पहिले पुजिन्छन् । दसैँका दिन पनि पूजाआजा गरेर देउताका धामीबाट टीका ग्रहण गरेर मात्रै घरफर्की ठूलाबडाबाट टीका थाप्ने चलन रहेको पण्डित भट्टले बताउनुभयो । यी मन्दिरमा अष्टमीका दिन बाजागाजा, आभूषण, डोली सहित देउरो (शोभायात्रा) मन्दिर लैजाने परम्परा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यी सुदूरपश्चिमका मुख्य मन्दिर बाहेक पनि यहाँका हजारौँ मन्दिरमा नवरात्रभर विभिन्न देवीदेउताको पूजाआजा र होम हुने गरेको छ ।
समैजी देउताका पुजारी समेत रहनुभएका उहाँले समैजी मन्दिरमा पञ्चमीका दिन देउरो लैजाने र दसैँका दिन टीका प्रसादपछि गाउँको देवघर, भ्राणमा फिर्ता ल्याइने बताउनुभयो । उहाँका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७ पोराको पवित्र क्षेत्र घना जङ्गल लेगीमा रहेको समैजी मन्दिरमा यस क्षेत्रका पाँच गाउँबाट (द्याडी) पूजाआजाका सामग्री घिउ, चामल, जौ, तिल, धूप लैजाने र नवरात्रभर प्रत्येक दिन बेलुकी सूर्यास्तको समयमा पूजाआजा र होम गरेर तिलकप्रसाद ग्रहण गरिन्छ ।
समैजी देवताका देउरो भट्गाउँमा राखिने र करिया भरिया भण्डारी थर भए पनि यस क्षेत्रका जोशी, भट्टराई, भट्ट, शाहु, बुढाऐर थरले पूजापोखल मन्दिरमा पु¥याई पूजाआजा गर्ने चलन रहिआएको छ । दसैँमा पूजाआजा हुने भए पनि यहाँका देवी देउताको वार्षिक विशेष पूजाआजासँगै भव्य मेला तिहार पछिका तिथिमा हुने गरेको उहाँले बताउनुभयो । तिहारका पाँच दिनपछि शैलेश्वर महादेव, १० दिनपछि समैजी र १५ दिनमा उग्रतारा भगवती मन्दिरमा भव्य मेलासँगै पूजाआजा सहित देहिजाँत हुने गरेको छ । वार्षिक पूजालाई निकै महत्वका साथ लिइन्छ ।
दसैँ र वर्षिक पूजाआजाका बेला देवतासामु आफ्ना पीडा पोखिन्छन् । गल्ती भएमा माफी मागिन्छ । जीवन शान्तिको उपाय सोधिन्छ । मन हलुका पारिन्छ । देउताले पनि तोकिएका धामी मार्फत सबैका माग पूरा गर्ने समय तोक्छन् । समाधानका उपाय बताइदिन्छन् । गल्ती गरेकालाई दण्ड जरिवानाको पनि हुकुम हुन्छ । अधिकांश मन्दिरमा यतिबेला देवता र मनुवाको दोहोरो वार्तालाप हुन्छ अदालत जस्तै । यो धार्मिक सभामा देउताको आदेश मान्नै पर्ने समाजिक कर पनि लाग्छ ।
यसै दिन पछिल्ला वर्षमा आफूले मागेका माग पूरा हुने हुनाले खुसीले घण्ट, तरबार, त्रिशूल, सालका स्तम्भ, विगुल, तामा पित्तलका बाघ, सर्पका आकृतिदेखि वस्त्र, ध्वजा र सुन चाँदीसम्म यसैदिन देउतालाई चढाउँछन् । माग्ने र माग पूरा हुनेले लाख बत्ती पूजा पनि यसैदिन राखेका हुन्छन् । देउताका पूजाआजाका दिनको यो दृश्य देवलोकमा गएर आम नागरिकले आफ्ना पीडा र खुसी देवतासँग साटिरहेको र आफ्ना अपुग माग र इच्छा उनीसामु पोखिरहेको जस्तै हुन्छ ।