१० असोज, काठमाडौं : सिनेमा ‘बलिदान’ रिलज हुन अझै चार दिन छ । बुधबार शोज बाँडफाँट गर्दै सिनेमा हलहरूले अग्रिम बुकिङ खुला गरेका थिए । सँगै रिलिज हुन लागेका भन्दा झण्डै दोब्बर बढी शोज पाएको ‘बलिदान’ले बिहान सबैरैदेखि मध्यरातसम्मको शोज पाएको छ । बिहान ५ः३० देखि राति ११ः५५ बजेसम्मको शोज ‘बलिदान’ले पाएको छ । ११ः५५ को शोज सकिँदा बिहानको ३ बज्छ ।
बिहान ५ः३० र राति ११ः५५ को शोज बिरलै सिनेमाले मात्रै पाउँछन् । रिलिज अगाडि लोभलाग्दो हाइप भएका सिनेमाले मात्रै पाउँछन् । रिलिज भइसकेपछि भने जुन शोजमा पनि दर्शक हाउसफूल भएर अन्य सिनेमामा दर्शक जान थालेपछि बिहान ६ बजे अगाडि र राति मध्यरातको शोज हलले निकाल्छन् । यसअघि गत वर्ष प्रदर्शन भएर झण्डै आधा अर्ब नेपाली बक्स अफिसबाट मौत्र उठाएको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई सिनेमा हलहरूले बिहान ५ः३० र राति ११ः५५ को शोज दिएका थिए । हलहरूले ‘बलिदान’का लागि निकालेको शोजले सकारात्मक संकेत देखाएका छन् ।
पाँच दिन अगाडि नै सिनेमामा देखिएको अग्रिम बुकिङले पनि सकारात्मक संकेत देखाइरहेका छन् । कतिपय शोजमा पाँच दिन अगाडि नै राम्रो बुकिङ देखिएको छ । निर्माणपक्षले राताम्मे बुकिङ भएका शोजको स्क्रिनसट फेसबुकमा पोस्ट गर्न थालिसकेका छन् । निर्देशक सन्तोष सेनले पनि बुकिङको स्क्रिनसट आफ्नो फेसबुकमा पोस्ट गर्न थालेका छन् ।
‘लु है प्रिय दर्शकहरू यो ज्यान बलिदान ५ दिन अगाडिदेखि भइरहेको छ.. । तपाईंहरू कुन ठाउँ पहिलो दिन पहिलो शो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस्,’ निर्देशक सन्तोष सेनले उत्साहित हुँदै लेखेका छन् । विशेषगरी अहिले सुदूरपश्चिममा ‘बलिदान’को बुकिङ धेरै भएको देखिएको छ । कैलाली ‘बलिदान’का मुख्य कलाकार समीर भट्टको होमटाउन हो ।
ललितपुरको लाबिम महल र भक्तपुरको भाटभटेनीका केही शोमा पनि राम्रै बुकिङ भएको देखिएको छ । यसले शुभसंकेत देखाएको थियो ।
‘बलिदान’मा समीर भट्टसँगै सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वल्र्डवाइड रिलिज हुँदैछ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । सन्तोष सेनले निर्देशन गरेका छन् ।