८ असोज, काठमाडौं : पुस्ताहरू परिष्कारको प्रक्रियामा रहन्छन् । अघिल्ला पुस्ताका कार्यव्यवहार, उपलब्धि र व्यवस्थापनप्रति पछिल्ला पुस्तामा असन्तोषका साथ आलोचनात्मक चेत राखेर नयाँ स्वाद र सन्तुष्टि खोज्ने प्रवृत्ति रहन्छ । प्रविधि पुस्ता (जेन-जी) यसका अपवाद होइनन् । चेतना, परिवेश र विश्वव्यापी सामाजिक विमर्शका कारण स्वभावगत रूपमा यो पुस्ता परिवर्तनप्रति तीव्र अपेक्षामा छ । ‘टेक–नेटिभ’ का रूपमा चिनिएको यो पुस्ता ग्याडजेट र ट्याबलेटसँग हुर्कियो । पुस्तकबिना पढ्नु, खेलमैदानबिना खेल्नु र सामाजिक विमर्शका लागि जमघटभन्दा डिजिटल प्लेटफर्मलाई उपयोग गर्नु यस पुस्ताका विशेषता हुन् ।
वैयक्तिक स्वतन्त्रताको कट्टर पक्षपाती र स्वाभिमानी स्वभावका कारण सरकार, शासन, प्रशासन, सेवा, सुविधालाई मौलिक रूपमा परिवर्तनको धारणा राख्ने नै भए । चित्त नबुझेका कुरामा यो पुस्ता प्रतिरोधी पनि छ । त्यसैले ‘टेक–नेटिभ’ ले उठाएका मुद्दाहरू आवेग र उद्वेग होइनन्, न प्रतिशोध ईष्याका अभिव्यक्ति हुन् । उनीहरूले उठाएका कुरा आफ्नै पुस्ताका लागि मात्र पनि होइन, ती समग्र समाजका लागि शासन–प्रशासनको वंशाणु परिवर्तनका माग हुन् ।
प्रशासनको व्यवहारबाट सर्वसाधारणको दैनिकी प्रभावित हुन्छ । प्रविधि पुस्ताले प्रशासनका आधारभूत आयाममा परिवर्तन चाहेका छन् र यो परिवर्तन प्रवर्तनको दिशामा निरन्तर रहनुपर्ने देखिएको छ । नेपालमा जेनजी आन्दोलनका क्रममा सामाजिक प्लेटफर्ममा शासकीय बेथितिमाथि आलोचना गरिएको थियो, ‘ह्यासट्याग नेपो बेबी’, ‘नो करप्सन’, ‘एक्सपोज करप्ट फेमिली’ जस्ता नाराले साङ्केतिक रूपमा यही कुरा अभिव्यक्त गर्दथ्यो । यस अर्थमा सार्वजनिक व्यवस्थापनमा पारदर्शिता, स्वच्छता र पवित्रताको माग त्यहाँभित्र छिपेको सवाल थियो । सूचना प्लेटफर्म सामाजिक विमर्श, सहभागिता, ज्ञान आर्जन र अवसरका माध्यम थिए, सूचना पारदर्शिता हरेक प्रकारको बेथितिविरुद्धको शक्ति हो ।
सामाजिक सञ्जाल निषेध गरिएपछि यस्ता बेथितिमा सामाजिक विमर्श गर्न नसकिने ठम्याइ उनीहरूमा थियो । त्यसैले देखिँदा सामाजिक सञ्जालविरुद्धको आन्दोलन भए पनि यसले राज्यव्यवस्थामा पूर्ण पारदर्शिता, अभिव्यक्तिको स्वतन्त्रता र निजत्वको आनन्दको प्रतिरक्षाका लागि माग राखेको थियो । प्रशासन राज्यव्यवस्थाको संस्थागत संयन्त्र र जीवन्त प्रणाली भएकाले यसले ती भावनालाई संरक्षण गर्नु पर्छ भन्ने थियो । समाजमा हुर्किंदै गएको सूचना संस्कृति, निरन्तरको ज्ञान तथा प्रविधिको विस्फोट र परम्परागत मूल्यमाथिको स्खलनले सार्वजनिक प्रशासन त्यसलाई सम्बोधन गर्ने सामथ्र्यमा रहनु पर्छ भन्ने आग्रह प्रविधि पुस्ताको छ ।
प्रविधि पुस्ताले देख्न चाहेको अर्को आयाम प्रशासनिक संरचनामा परिवर्तन हो । सार्वजनिक प्रशासनको संरचनागत स्वरूप तहसोपानमा आधारित हुन्छ, जुन विधि व्यवस्था र नियन्त्रण सन्तुलनका लागि राखिएको हो । अहिले तहसोपानलाई जिम्मेवारी, ज्ञान र जवाफदेहिताको सोपानभन्दा बढी सञ्चार र सम्बन्ध, अधिकार र जिम्मेवारी अवरोध गर्ने पर्खालका रूपमा देखिएको छ । तहसोपानमा माथि रहनु भनेको बढी बुझ्नु, बढी ज्ञानमा हुनु र बढी अधिकारमा रहनु हो भन्ने बुझाइले प्रशासनको आन्तरिक संरचना कार्यमूलक छैनन् । ठुला सङ्गठनका ठाडो तहसोपानले सुपरिवेक्षकहरूमा अहम्त्याइँ विकास गरेको छ । कार्यालयमा काम गर्ने र गराउने वर्ग कठोर रूपमा संस्थागत छ । आन्तरिक समावेशिता छैन, सहभागिता र विविधता व्यवस्थापनलाई पनि यसले अवरोध गरेको छ भने निर्णयलाई अवास्तविक बनाउने काम पनि यसले गरिरहेको छ ।
प्रशासनको नैसर्गिक चरित्रले तहसोपानयुक्त संरचना पूरा नामेट गर्न सकिँदैन र हुँदैन पनि तर संरचना कार्यसम्पादनको बाधक नभई सहजीकरण गर्न सक्षम हुनु पर्छ । प्रविधि पुस्ताले कार्यमूलक संरचना चाहेका छन् यो समयको माग पनि हो, जसले सर्वसाधारणका सरोकारलाई शीघ्र सम्बोधन गर्न सकोस् । ठुला र अग्ला संरचना होइन, छरिता र कार्यमूलक संरचना अहिलेको आवश्यकता हो । सन् २००० को दशकबाट महानिर्देशक/महाप्रबन्धक, प्रमुख कार्यकारी अधिकृत बन्नुका पाछडि संरचना कार्यमूलक हुनु पर्छ र कार्यजिम्मेवारीमा पदाधिकारी रहनु पर्छ न कि ओहोदा महìवपूर्ण हो भन्ने सन्देह पनि थियो । नयाँ सार्वजनिक व्यवस्थापन, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक सुशासन हुँदै नयाँ सार्वजनिक जागरणको प्रयोग प्रशासनमा भए पनि नेपालका सन्दर्भमा यसले खासै महत्व पाएन र टेक नेटिभहरू प्रशासन परिवर्तनको आग्रहमा देखिएका हुन् ।
प्रविधि पुस्ता हरेक काममा शीघ्रता चाहन्छ । शीघ्र कार्यसम्पादन, शीघ्र नतिजा, शीघ्र प्रतिक्रिया उसको स्वभाव हो । यो आमसेवाग्राहीको भावना पनि हो । प्रत्येक सेवाग्रही आफ्ना लागि जिम्मेवारी लिएर बसेका कर्मचारीबाट हरेक कुरा छिटो छरितो चाहन्छन्, यहाँसम्म कि नहुने काम रहेछ भने पनि यस कारणले हुँदैन भन्ने प्रतिक्रिया तत्काल पाइयोस् । प्रविधि पुस्ता त केवल प्रतिनिधि हो, अरूले त्यति बोल्न सकेका थिएनन् र निष्क्रिय अपेक्षामा थिए, युवा चेतनाका कारण आफ्ना कुरा स्पष्ट राख्ने क्षमतामा छन् ।
यसका लागि प्रशासनले कुन नीति, कुन विधि र कुन प्रविधि अवलम्बन गर्ने भन्ने कुरा उनीहरूले निर्धारण गर्ने हो तर कामहरू छिटो हुनु पर्छ । सेवाग्राहीलाई गर्ने व्यवहार विनम्र हुनु पर्छ, व्यवहार गर्ने शैली सकारात्मक हुनु पर्छ । सेवा निकायमा रहने कर्मचारीहरूमा शिष्टता, सक्रियता र समर्पणभाव देखिनु पर्छ । जागिरभन्दा सेवा, ‘नट भोकेसन बट सर्भिस’ को मनोव्यवहार चाहिन्छ । यसो गर्न प्रविधि पुस्ताले अहिलेको आन्दोलनमार्फत प्रशासनलाई सजग गराएको छ । तर यी कुरा नयाँ नभई सार्वजनिक प्रशासनका आधारभूत मूल्य नै हुन्, जुन भुलिएको थियो, त्यसलाई पुनर्ताजगीकरणको माग भएको मात्र हो ।
परिवर्तनको माग सेवाको डिजाइन, पहुँच र व्यवस्थापन शैलीमा पनि भएको छ । प्रविधि पुस्ता आफूहरूको चाख र चाहना अनुरूपको सेवा चाहन्छ, सचेत चयनका लागि सूचना र पहुँच चाहन्छ । यसले सार्वजनिक प्रशासनको शैलीमा मात्र पुनर्बोधको माग गरेको छैन त्यसका लागि चाहिने सिप र सशक्तीकरणको पनि माग गर्छ । संयन्त्र सचेत, सिपयुक्त र सशक्तीकृत नभएसम्म सेवाग्राहीले पाउने सेवा सुविधा भनिएको जस्तो हुँदैन । त्यसैले बहुसिपयुक्त र स्वयम् सुसूचित कर्मचारीको माग गर्छ । स्वयम् परिचालित र स्वयम् निष्ठाको कर्मचारी चाहन्छ । किनकि सार्वजनिक प्रशासन सेवाग्राही नागरिकको विश्वास र भरोसाको पुञ्ज हो ।
यो राजनीति र स्वार्थमा विभाजित नहोस्, सबैको साझा संयन्त्र होस् भन्ने चाहन्छ । यसो नुहुँदा यो संयन्त्र आलोचित भएको हो । आस्थामा विभाजित हुँदा र राजनीतिक कार्यकारीले गिजोल्दा नीति निर्णयमा शासकीय वास्तविकताभन्दा स्वार्थ हाबी भई नीति लाभ हडप्ने अवस्थाबाट पनि प्रविधि पुस्ता आजित छ । किनकि चेतनाले युवा आफ्नो भविष्य सुनिश्चित होस् र राजकीय व्यवस्था न्यायपूर्ण होस् भन्नेमा छन् ।
प्रविधि पुस्ताले प्रशासनलाई हतप्रभ पार्न खोजेको कदापि होइन, प्रशासनलाई कार्यमूलक जीवन्त संस्थाका रूपमा अभिमुखीकरण गर्न खोजेको हो । यसका लागि कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा, पुरस्कार, प्रोत्साहन, प्रशासनिक नेतृत्व जस्ता पक्षमा विद्यमान बेथितिलाई योग्यतामूलक र अनुमानयोग्य बनाउने आग्रह मात्र प्रविधि पुस्ताको आन्दोलनले गरेको छ । यो प्रशानसँग मात्र लक्षित नभई यसको अभिभावकत्व लिने राजनीतिक कार्यकारीलाई गरिएको चेतावनी पनि हो । किनकि राजनीतिक कार्यकारीले प्रशासनिक विज्ञता र व्यावसायिक अस्तित्वलाई उपेक्षा गरिरह्यो र प्रशासनको दुरुपयोग गरेर राजनीतिको खराब अभीष्ट पूरा गर्न तल्लीन रह्यो । प्रशासन दह्रिलो नहुँदा आफ्ना स्वार्थ पूरा गर्न सजिलो हुने महसुस गरिरह्यो ।
छिमेकी मुलुक पाकिस्तान, बङ्गलादेश, श्रीलङ्काका बेबी वुमर पुस्ताका शासकबाट पनि यही कुरा सिकएको थियो । राजनीतिक कार्यकारीहरू संरचना बनाएर वा व्यावहारिक प्रभावबाट प्रशासनलाई आफ्नो पक्षमा दुरुपयोग गर्न उद्यत थिए । स्वकीय सचिव जस्ता संयन्त्रलाई मन्त्रालयमा उपस्थित गराएर सरुवा, बढुवा र खरिद व्यवस्थापनमा उनीहरूको ध्यान गहिरियो । निजामती सेवाभित्रका इमानदार कर्मचारीले व्यावसायिक प्रतिरोध गर्दा प्रतिशोधको भावना लिई उनीहरूलाई हतप्रभव पार्दै कनिष्ठ अनि कम बुझेकालाई प्रशासनिक नेतृत्व दिने, यसका मातहतमा वरिष्ठ र इमानदारलाई राख्ने बेथितिको विकास भयो । परिणामतः राजनीतिक कार्यकारी र उनीहरूको प्रवृत्तिलाई सहयोग गर्ने कर्मचारी प्रविधि पुस्ता (सर्वसाधारण) को नजरमा गिरेका हुन् । त्यसैले प्रविधि पुस्ताले प्रशासनिक अभिभावकत्वलाई वस्तुनिष्ठ र सार्वजनिक सेवाका सिद्धान्त अनुरूप हेर्न चाहेका छन् । यो नै परिवर्तनको मुद्दा हो ।
सार्वजनिक प्रशासनको मनोबल निकै गिरेको छ । यसका आन्तरिक, परिवेशजन्य र बाह्य कारण छन् तर यस विषयमा राजनीतिक तहबाट कहिल्यै संवेदनशीलता देखाइएको छैन । नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा नै प्रशासनिक मनोविज्ञानलाई सम्बोधन गरेर स्वचालित संस्थाका रूपमा अभिप्रेरित गराइएको छैन, केवल यसलाई कि दुरुपयोग वा आलोचना गरिएको छ । त्यसैले सार्वजनिक प्रशासनले जीवन्त संस्थाका रूपमा गतिशीलता देखाउन सकिरहेको छैन । प्रविधि पुस्ताले यसप्रति पनि प्रश्न उठाएको छ र विज्ञता र इमानदारिताको कदर गर, त्यसो गर्न तिमी सक्षम होऊ भनी राजनीतिलाई सचेत गराएको छ । विचारशील, बफादार, खुला, जिम्मेवार, दृढ एवं प्रतिरोधी प्रविधि पुस्ता जेनजीले प्रशासन पनि आफू जस्तै बनोस् भन्ने चाहेको छ । यो उनीहरूको मात्र आवाज होइन, सबै पुस्ताको चाहना हो ।
-गोपीनाथ मैनाली