01/19/2026, 17:12:08
सोमबार, माघ ०५, २०८२

तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होसार मनाए


काठमाडौँ, माघ ५ गते ।तामाङ समुदायले आफ्नो नयाँ वर्षको रूपमा सोनाम ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरु भएको छ । यस वर्ष सर्प वर्ष पूरा गरी घोडा वर्षमा प्रवेश भएको हो ।

सोनाम ल्होसार तामाङ, ह्योल्मो लगायतका समुदायको प्रमुख सांस्कृतिक पर्व हो । यो पर्व माघ शुक्ल प्रतिपदाका दिन विभिन्न सांस्कृतिक कार्यक्रम, पूजापाठ, नाचगान र मिठाई तथा परम्परागत खानपिनका साथ मनाइन्छ ।

काठमाडौँको टुँडिखेल, बौद्धनाथ, स्वयम्भू क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन् । नेपाल तामाङ घेदुङको आयोजनामा टुँडिखेलमा तीनदिने सांस्कृतिक महोत्सव शुरु भएको छ । पर्वका अवसरमा तामाङ समुदायका घरहरू सरसफाइ गरी नयाँ लुगा लगाउने, सेलरोटी, खुवा लगायतका परिकार बनाउने र आफन्तजनसँग शुभकामना आदानप्रदान गर्ने चलन छ ।

बौद्ध गुम्बाहरूमा विशेष पूजा र लामा नाचहरू प्रश्तुत गरिन्छ । सरकारले सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..