ग्वाटेमाला सिटी, माघ ५ गते । जेलभित्र हिंसात्मक दंगापछि ग्वाटेमालाका राष्ट्रपति बेर्नार्दाे अरेभालोले देशभर ३० दिने आपतकाल घोषणा गरेका छन् । सप्ताहन्तमा आपराधिक गिरोहहरूले तीनवटा जेलमा दंगा मच्चाउँदै दर्जनौँ कर्मचारीलाई बन्धक बनाएका थिए भने राजधानी ग्वाटेमाला सिटीमा कम्तीमा सात जना प्रहरीको हत्या गरिएको थियो ।
राष्ट्रपति अरेभालोले आइतबार जारी गरेको आपतकालीन आदेश तत्काल लागू भएको छ । यद्यपि, यो आदेश ग्वाटेमालाको संसदबाट अनुमोदन हुन बाँकी छ ।
आपतकाल अवधिमा नागरिक स्वतन्त्रता सीमित हुनेछ र सुरक्षा निकायलाई अदालतको पूर्वअनुमति बिना नै शंकास्पद व्यक्तिलाई पक्राउ वा सोधपुछ गर्न सक्ने अधिकार दिइएको छ ।
‘यी हत्या सुरक्षा बल र जनतालाई आतंकित पारेर गिरोहविरुद्धको सङ्घर्ष रोक्ने उद्देश्यले गरिएको हो । तर उनीहरू सफल हुने छैनन्’ राष्ट्रपति अरेभालोले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन् । सबै बन्धकहरू सुरक्षित रूपमा मुक्त गरिएको जानकारी दिँदै उनले आक्रमणका पीडितको सम्झनामा तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन् ।
जेलमा गिरोहका बन्दी नेताहरूलाई दिइँदै आएका विशेष सुविधा कटौती गरेपछि शनिबारदेखि ग्वाटेमालाका जेलमा हुलदंगा सुरु भएको थियो । तीमध्ये एक बार्रियो १८ गिरोहका बन्दी नेता आल्दो डुप्पी पनि हुन् ।
बार्रियो १८ र यसको प्रतिद्वन्द्वी मारा साल्भात्रुचा (एमएस–१३) लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बरमा ‘विदेशी आतङ्कवादी संगठन’ घोषणा गरेको थियो ।
एक महिनापछि ग्वाटेमालाको संसद्ले पनि सोही मान्यता दिएको थियो । दङ्गाको क्रममा गिरोह सम्बद्ध बन्दीहरूले ग्वाटेमाला सिटी आसपासका तीन जेलबाट ४६ जना जेल गार्ड र कर्मचारीलाई बन्धक बनाएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















