09/20/2025, 12:14:16
शनिबार, असोज ०४, २०८२

१२२ वर्षअघि बनेको थियो १७ सय कोठाको सिंहदरबार


काठमाडौँ, असोज ४ : जेन–जी आन्दोलनले अर्बुदको गाँठोजस्तो पुरानो सत्ता फाल्यो । तर, आन्दोलनको भीडमा पसेका जेन–जीइतर प्रदर्शनकारीले भव्य इमारतहरूमा आगो झोसेपछि सहर कालाम्य भूतबंगलाहरूको कहालीलाग्दो दुःस्वप्नजस्तो नगरीमा बदलियो । र, विसंगतिहरूले घेरिएको राष्ट्रिय जीवनको विशेषता बन्यो— धूवैधूवाँ 

जलेको संसद् भवनको सभागार, शीतल निवास, सर्वोच्च अदालत र सिंहदरबारको पटाङ्गिनी देखेर मानिस अस्तित्वको भयानक संकटमा निस्सासिएका छन् ।

हिजो–अस्तिसम्म सत्ता र शक्तिको जब्बर किल्ला बनेर उभिइरहेको सिंहदरबार आज निरीहताको कालो बर्को ओढेर शयनमग्न छ, यसको रङ पानी पर्नुअघिको बादलजस्तै उदास छ । आगोले भव्य भवन मात्रै विनाश गरेन, यसको नृशंस लप्काको भाकामा हजारौं कथा र विश्वास पनि समाप्त भए । विशाल महलका शिल्प र भव्यता आज खरानीको थसुल्लो थुप्रोमा परिणत भएका छन् ।

सिंहदरबारको आगोले राजधानीको आकाशलाई अन्धकारमा डुबाएको थियो । आगो झोसिएको हप्ता दिनसम्म पनि यसको छानो धुवाइरहेको थियो । यो भव्य महलको सिमेन्टका पर्खाल, बुर्जा र काठका खम्बाहरू जलेर खाग बनिसकेका छन् । इतिहासको स्मृति र शक्तिका चिह्नहरू लप्काले नष्ट पारिसकेको छ ।

यस अग्निकाण्डले ऐतिहासिक दरबारको पूर्व–कथा वाचन गरिरहेको छ, जसको गर्भगृह र प्रतिष्ठामा राष्ट्रको राजनीतिक शक्ति बस्ने गर्थ्यो, यहीँ छ उभिएको आज, संकटको घडीमा । यो आगो थियो— नेपालको हर्ष र दुःखको गाथा, संघर्ष र पराजयको कथा । निषेधका अग्ला पर्खालले घेरिएको देशको भविष्य अझ निराशाजनक, विक्षिप्त र दुरुह हुनेछ भन्ने बोधले मान्छे निसास्सिइरहेका छन् ।

हिजो–अस्तिसम्म सत्ता र शक्तिको जब्बर किल्ला बनेर उभिइरहेको सिंहदरबार आज निरीहताको कालो बर्को ओढेर शयनमग्न छ, आगोले भव्य भवन मात्रै विनाश गरेन, यसको नृशंस लप्काको भाकामा हजारौं कथा र विश्वास पनि समाप्त भए ।

२३ भदौमा उठेको जेन–जी आन्दोलनको उभारले गोलीको आवाज र आगोबीच काठमाडौं दुःस्वप्नको ‘ल्यान्डस्केप’ बन्यो । खरानी बनेको सिंहदरबार पर्याप्त छ, अब देश भयावहताको भुमरीमा फस्यो भन्नलाई । आन्दोलनको तापमान क्रमशः उकालो लाग्दै जाँदा जल्यो— सिंहदरबार । र, जले यही आँगनभित्रका तमाम मन्त्रालयहरू— गृह मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय… । सिंहदरबार प्रांगणमा यत्रतत्र छरिएका छन्— ध्वाँसो पोतिएका, खिया लागिसकेका मोटर र गाडीका तमाम कंकाल ।

तर, यो अग्निकाण्डमा पनि जोगियो — नेपालको डेटा सेन्टर । यो पनि जलेको भए सायद हामी तथ्यांकमा शून्य–शून्य हुनेथियौं र डिजिटल नेपालको सपना अधुरो–अपूरो रहनेथियो ।

त्यसपछि ?

धेरै दिनपछि काठमाडौंका साँघुरा गल्ली र सडकको गन्जागोलमा मान्छेहरू आफूले छाडेका पैतालाका डोबहरूतिर फर्की हेर्न थालेका छन् । ‘अहो, कहाँबाट कहाँ आइपुगियो ?’ ती सुस्केरा हाल्न थालेका छन् । अतीतको धूलोमा पुरिएको छ— सहर । स्मृतिको पुरानो सन्दुक, स्वर्णिम र सानदार इतिहासमा अब लागेको छ आगो । सहरमा अझै तैरिरहेको छ— आगोको गन्ध ।

काठमाडौंको मुटुमा गजधम्म बसिरहेको सिंहदरबार केवल अद्वितीय भवन थिएन, प्रशासनिक संरचना मात्र पनि थिएन, यो नेपाली इतिहास र राजनीतिको वृत्तान्त—थलो थियो । यसको भव्य आर्किटेक्चर आफैंमा एउटा उद्घोष थियो, शक्ति र सत्ताको ।

सिंहदरबारको यो अग्निकाण्ड पहिलो थिएन, इतिहास भन्छ— २५ असार २०३० को सोमबार राति १० बजे विद्युत् सर्ट भएर आगो दन्किएको थियो । आगोले सिंहदरबारका सबै घरको बुर्जा, कौसी र छाना जल्यो । त्यो अग्निले सिंहदरबारका बहुमूल्य कागज–पत्र खरानी भए । ५२ वर्षपछि फेरि जलेको छ — सिंहदरबार । र, फेरि खरानी भएका छन्– यसको गर्भमा रहेका ऐतिहासिक दस्ताबेजहरू । नेपालको राजनीतिक–संवैधानिक इतिहास पनि सिंहदरबारसँगै खरानी भएको छ । अंगार भएका ती कागजपत्र थिए– राष्ट्रको मूल्यवान् सांस्कृतिक धरोहर ।

१९ औं शताब्दीको विशिष्ट वास्तु नमुना थियो, यो दरबार । इतिहासमा अंकित छ — चन्द्रशमशेरले विसं १९६० मा व्यक्तिगत २५ लाख रुपैयाँ खर्चेर निर्माण गराएको यो भव्य दरबारमा १७ सय कोठा तथा विभिन्न चोक थिए । दरबार निर्माण हुन एक वर्ष लागेको थियो ।

नेपाली राणाजीहरूको सम्भ्रान्तपना र कलाचेतनाको सानदार संयोजन थियो यो, दरबार । साहित्यकार बालकृष्ण समले सिंहदरबारको वास्तुकलामाथि संस्मरण र स्मृतिहरू लेखेका छन् ।

सिंहदरबार जलेपछि २० साउन २०३० को ‘गोरखापत्र’ मा ‘मेरो अग्रज सेतो दरबार र मेरो सहज सिंहदरबार’ निबन्धमा समले सिंहदरबारको वास्तुमाथि विमर्श गरेका छन् । सम लेख्छन्, ‘जलिसकेका अनि ढलिसकेका स्तम्भहरूलाई नमस्कार छ, अझै जीवित भएर उभिइरहेका स्तम्भहरूलाई अभिवादन छ । कहिल्यै अन्त नहुने सहोदर करोडौं पुनरुद्दीपक सहज भावनालाई प्रणाम छ ।

समका अनुसार, सिंहदरबारमा मुख्य धन थिए— प्रायः सरकारी कागजपत्र र ऐतिहासिक पुस्तक पत्रहरू । उनी लेख्छन्, ‘हुन त महत्त्वपूर्ण कागतहरू धेरैजसो झिकेर उतारिए तापनि त्यत्रो आगलागीमा प्रशस्त कागतपत्रहरू जल्नु स्वाभाविकै हो । त्यस्तै सजावट सामानहरू पनि प्रशस्त जले ।’

आख्यानकार, निबन्धकार धच गोतामेले तीस सालको त्यो अग्निकाण्डमाथि संस्मरण लेखेका छन्— ‘सम्झनाका गल्छेडाहरू’ मा । ‘सिंहदरबारमा आगो लागिरहेकै बेला परराष्ट्र मन्त्रालयतर्फको कुनाबाट त्यहींका एक उपसचिव प्रकट भए । उनी नाङ्गो खुट्टामा थिए र आफ्नो सुरुवालको मोहोता घुँडासम्म सोहोरेर ल्याएका थिए । उनको दुवै हातमा राजारानीको फ्रेमजडित ठूलो तस्वीर थियो ।

उनले असिनपसिन भएर प्रधानमन्त्रीको नजिक आएर भने— हजुर ! मैले आगोसँगको परवाह नगरेर सरकारहरूका दुवै तस्वीर बचाएर ल्याएँ ।…परराष्ट्र मन्त्रालयको जैसी कोठा, जहाँ देशको अमूल्य ऐतिहासिक धरोहर रहेको छ, आगोले आधा खाइसकेको थियो । उपसचिव विश्व प्रधानले प्राचीन ऐतिहासिक अभिलेखहरूका स्याहास्रेस्ता र पत्राचारहरूको कुनै ठूलो पोको घिच्याएर ल्याउनुसट्टा दुई तस्वीर बोकेर ल्याउनु श्रेयस्कर सम्झे । पछि यिनी परराष्ट्र सचिव भए र सर्वाधिक महत्त्वपूर्ण ठाउँका राजदूत पनि भए ।

त्यो अग्निकाण्डपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए । त्यो थियो— नैतिकताको एक उदाहरण । पाँच दशकअघिको त्यो आगलागीमा दरबारको पूर्वी भाग ध्वस्त भएको थियो । ‘आगलागीबाट बचाउन भगीरथ प्रयास गरिए पनि त्यो प्रयास सफल भएन । तोप हानीहानी पछाडिको भाग भत्काएर अगाडिको भाग जोगाइयो, बाँकी सिंहदरबार जलेर खरानी भयो ।’ (राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, पुरुषोत्तमशमशेर जबरा) ।

सिंहदरबारको हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो र सिंहदरबारभित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । नेपाली सेनाले सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाएको थियो । त्यो आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्तै सारिएका थिए ।

१० असार १९५८ मा सत्तामा आएका चन्द्रशमशेरले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गर्दै प्रतिरोपनी ९० रुपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरेका थिए । ‘चन्द्रशमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन खोजेको भए पनि बनाउँदा बनाउँदै भव्य दरबार तयार भयो । सिंहदरबारमा प्रयोग भएका सम्पूर्ण काठ काठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरी ल्याइएको थियो,’ ऐतिहासिक महेशराज पन्त भन्छन्, ‘सिंहदरबारलाई चन्द्रशमशेरले व्यक्तिगत भवनका रूपमा बनाए भनिन्छ, पछि उनले राष्ट्रलाई बेचे । उनीपछिका सबै प्रधानमन्त्री त्यहीँ बसे, पद्मशमशेर चाहिँ बसेनन्, किनभने उनलाई सिंहदरबार आउँदा बढी खर्च लाग्छ भन्ने लाग्यो । पद्मशमशेर पैसाको ख्याल राख्थे र सादगी थिए, विशालनगर दरबारबाटै शासन चलाए । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरदेखि मात्रै सिंहदरबारमा बस्न थाले । चन्द्रशमशेर, उनीपछिका भीमशमशेरको शासन त्यहीँबाट चल्यो । श्री ३ महाराजको बासस्थान पनि त्यही थियो । मोहनशमशेरको शासनको अन्त्य पनि त्यहीँबाट भयो ।

पण्डित अम्बिकाप्रसाद उपाध्यायको किताब छ— ‘नेपालको इतिहास र रामनगरको इतिहास’, जसमा उनले सिंहदरबारको साज र सजावटमाथि लेखेका छन्, ‘महाराज चन्द्रशमशेरले आफू प्राइममिनिस्टर भएपछि असंख्य द्रव्य खर्च गरी भारतवर्षमा दोस्रो नभएको जो विशाल दरबार बनाएका थिए, जसमा आधुनिक सभ्यताको पूर्ण चमत्कार भरिएको छ, जसमा हरएक ठाउँको अनिर्वचनीय शोभा छ, त्यस्तो सिंहदरबारलाई अबउप्रान्त प्राइममिनिस्टरले यहीँ दरबारमा बस्नू भन्ने गरि ‘प्राइममिनिस्टरको दरबार’ भन्ने नामले सरकारी दर्बार बनाए । यस दरबारको ठाउँ–ठाउँमा जो अमूल्य साजहरू सजिएका छन्, ती पनि सबै दरबारैको साथ रहने गराइए अर्थात् ई महाराजले यही दरबार मात्र छाडिदिए भन्ने होइन कि दरबारका साथ प्राइममिनिस्टरको उपयुक्त सब सामानहरू पनि सरकारीया बनाइदिए ।

तर, अब यो भव्य सिंहदरबारमा नीरस सन्नाटा बाँकी छ । सिंहदरबारको स्वप्निल ऐतिहासिकता भने कुनै तिलस्मी कथाभन्दा कम छैन । विसं १९६० मा निर्माण सुरु भएको सिंहदरबारको नक्साकार थिए— नेपाली इन्जिनियर कर्नेल कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्रबाबु । इतिहासमा लेखिएको छ— सिंहदरबार निर्माण गर्ने बहुसंख्यक कामदार नेपाली राष्ट्रिय सैनिक र जेलमा लामो सजाय पाएका कैदी थिए । नेपाली राष्ट्रिय सैनिक र कैदी प्रयोग गरिएकाले नै विशाल दरबारको निर्माण ११ महिनाभित्रै पूरा भएको थियो ।

जगन्नाथ र बैजनाथ सेढाईंको ‘चन्द्रमयूख र भूचन्द्र–चन्द्रिका’ किताबमा सिंहदरबारको वर्णन छ— सिंहदरबार नियोक्लासिकल वास्तुकलामा आधारित छ, ग्रिक रोमन कलाको झल्को दिने वास्तुकला ! महेशराज पन्त भन्छन्, ‘दरबारको बाहिरी संरचना पाश्चात्य शैलीको थियो, जहाँ सिमेन्ट प्रयोग गरिएको थिएन । बज्र, चाकु र मासको दाल प्रयोग गरी दरबारको गारो बनाइएको थियो । दर्शन ढुंगा, सिमरको पनि प्रयोग गरिएको थियो ।

सिंहदरबारमा थिए— ५ वटा चोक, १७ सय ठूला–ठूला कोठा र १७ वटा आँगन । दरबार वरिपरि भव्यतम् बगैंचाहरू थिए, जहाँ फुल्थे मौसमी फूलहरू । तीमध्ये पुतली बगैंचाको ख्याति छँदै छ । त्यस बगैंचाको कथा लेखेका छन्, सरदार भीमबहादुर पाँडेले– ‘त्यसबखतको नेपाल’ मा, ‘सिंहदरबारभित्र पुतली बगैंचामा बनेको सानो चट्ट परेको काठको घर ।

त्यहाँ प्रधानमन्त्री लम्पसार परेर आरामी मेचमा लेटेका हुन्थे, उनको अगाडि किसिम–किसिमका मीठा मसलाले भरिएको ठूलो बुट्टै–बुट्टा काटिएको चाँदिको पानबट्टा, चाँदिको कलापूर्ण हुक्का, टुटीमा सुनले बाँधेको रबरको नली र एकाध मेच हुन्थे । तालुकवालहरू मेचमा र अरू दुनियाँदार हाकिम कार्पेटमा पलेंटी मारेर बस्नुपर्थ्यो । प्रधानमन्त्रीले फाँकका फाँक मसला र तमाखु तान्दै ट्यार ट्यार कुरा सुन्दथे घन्टनतक ।’ त्यो बगैंचा कहिले नासियो ? हिसाब छैन । र, अब बगैंचा छैन तर दरबाअघिको लामो पोखरी छँदै छ ।

इन्दु’ (मासिक पत्रिका २०४१, असार) मा इतिहासकार राजेश गौतमले सिंहदरबारमाथि निबन्ध लेखेका छन्— ‘सिंहदरबार’ एक ऐतिहासिक अध्ययन । उनी लेख्छन्, ‘सिंहदरबारको यो पोखरी र फोहराहरू इटालियन ढाँचाबाट निर्माण गरिएका थिए भने दरबारको दुवैपट्टि सडक निर्माण गरिएको थियो, जुन सडक मूल ढोकाबाट छुट्टिएर दरबारलाई वरिपरिबाट घेरी, फेरि मूल ढोकामै आएर जोडिएको छ । राणाकालीन नेपालमा धेरैजसो दरबारहरू युरोपिय ढाँचाबाट निर्माण भएको पाइन्छ । सिंहदरबारको ढोका पनि दरबारलाई सुहाउँदो किसिमको नै ठूलो र फलामका दुई खापा भएका छन्, जुन फ्रेञ्च तरिकाबाट बनेका छन्, जसका दुवैतिर पखेंटा फिँजिए फिँजिएका एकतले लहरे घरहरू छन् । जसका विभिन्न कोठाहरूमा प्रधानमन्त्रीको अंग रक्षकका रूपमा रहेको बिजुली गारत थियो ।

सिंहदरबारका कोठाहरू सिंगार्न जे–जति सामान प्रयोग गरियो, सबै विदेशबाटै झिकाइयो । दरबारका बैठक कोठाहरू बेलायती, इटालियन र फ्रान्सेली सामानले सिंगारिएका थिए । ‘बेलायत यात्राबाट फर्केर आएपछि चन्द्रशमशेरले दरबारमा केही थप कार्य गरेका थिए । जस्तो उनले ‘बेलायती बैठक’ बनाए ।

त्यस बैठकका भित्ताहरू ऐनै–ऐनाले छोपिएको थियो र ठूला–ठूला पानसहरू झुन्ड्याइएका थिए, जुन बेलायत र फ्रान्सबाट ल्याइएका थिए,’ भीमसेनगोलाको आफ्नै निवासमा बुधबार बिहान भेटिएका राजेश गौतम भन्छन्, ‘तर, यत्रो ठूलो सिंहदरवार निर्माण गराउने चन्द्रशमशेरले दरबारमा एउटा चर्पी भने बनाएका थिएनन् ।

उनी, उनका सम्पूर्ण परिवार र त्यहाँ बस्ने राणा प्रधानमन्त्रीहरू पछिसम्म पनि शौचकार्यका लागि दासदासी, नोकर–चाकरको सहयोगमा कोपराबाटै काम चलाउँथे । दरबारमा काम गर्ने तल्लो–तहका नोकर–चाकरहरू दरबारदेखि टाढाको खेत, जंगल र धोबीखोलामा गएर शौचकार्य गर्दथे । सिंहदरबारमा सर्वप्रथम २००६ सालमा ५–६ वटा चर्पीहरू बने, तर आधुनिक चर्पी भने त्यहाँ थिएनन् । विदेशीहरू मिटिङमा आउँदा त्यस प्रकारको समस्या परे तुरुन्त फर्केर दूतावासै जान्थे ।’ र, २०१७ सालमा संसदीय सरकारले परराष्ट्र मन्त्रालय बसेको लङमा पहिलोचोटि आधुनिक चर्पी बनाएको थियो ।

यस दरबारको नाम किन सिंहदरबार रह्यो ? गौतमले लेखेका छन्, ‘राणाकालीन नेपालका प्रधानमन्त्रीहरू एक किसिमले ‘सिंह’ सरह नै थिए ।…चन्द्रशमशेर ज्यादै रिसाहा, जंगी स्वभावका, कहिल्यै नहाँस्ने खालका व्यक्ति थिए । त्यसैले चन्द्रशमशेर हाँस्यो कि नास्यो भनेर भन्ने चलन थियो । तत्कालीन मानिसहरूले त्यस दरबारमा ‘सिंह’ जस्तो व्यक्ति बसेकाले त्यही दरबारको अगाडि छानामा राखिएको ‘सिंह’ लाई प्रतीकात्मक रूप बनाई दरबारको नाम ‘सिंहदरबार’ भनेर भन्न थाले । चन्द्रशमशेर स्वयंले उक्त दरबारको नाम ‘सिंहदरबार’ राखेका हैनन् ।’

सिंहदरबारको नाममाथि इतिहासकार पुरुषोत्तमशमशेर जबराको मत फरक छ । ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ मा उनी लेख्छन्, ‘सिंहदरबार निर्माण भइसकेपछि एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथै लिएर दरबारको कौसीमा पुगे । त्यहाँबाट बाघदरबार देखियो, चन्द्रशमशेरले ‘ऊ बाघदरबार’ भन्दै हातले औंल्याएर बालकुमारी देवीलाई देखाए । बालकुमारी देवीले ‘महाराज ! त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ? भनिन् । उनको प्रस्ताव चन्द्रशमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो ।

कलाले भरिपूर्ण यो विशाल दरबार चन्द्रशमशेरले किन निर्माण गरे ? ‘उनको ठूलो परिवार थियो । उनले दरबारको निर्माण छोराहरूलाई भाग लगाउन पुगोस् भन्ने दृष्टिले गराएका थिए । तर, पछि उनका छोराहरूले एउटै दरबारमा नबस्ने भनेर बेग्ला–बेग्लै दरबार बनाउने इच्छा व्यक्त गरे । र, चन्द्रशमशेरले त्यसलाई ‘अब उप्रान्त प्रधानमन्त्रीको निवासस्थान बनाउने’ भनेर राष्ट्रलाई बेचिदिए,’ राजेश गौतम भन्छन् ।

पुरुषोत्तमशमशेर जबराका अनुसार, चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट दुई करोड रुपैयाँ झिकेका थिए । ‘तर, विडम्बना ! नेपालजस्तो गरिब देशमा सिंहदरबार एकचोटि मात्रै बेचिएन । २००७ सालको क्रान्तिपछि २०२६ सालको अवधिभित्र दरबार फेरि एकचोटि राष्ट्रलाई बेचिएको थियो भनी बूढापाकाहरू भन्छन् । त्यो कहिले र कसले बेच्यो खोजीको नै विषय छ,’ गौतम लेख्छन् ।

इतिहासका किताबमा सिंहदरबारमा अनेकथरी वनस्पतिको भव्य बगैंचा रहेको चर्चा गरिन्छ । ‘असहमति’ किताबमा ‘सिंहदरबारबारे’ शीर्षक आलेखमा लेखक सौरभ लेख्छन्, ‘नेपालभरिको सबैभन्दा मीठो आँपको बोट यसैको पहिलो चोकमा रहेको बोटलाई मानिन्थ्यो ।

यद्यपि, यो कुन जातको हो, अहिलेसम्म यकिन भएजस्तो लाग्दैन ।… सिंहदरबारभित्रैका कपुरका रुखहरूबाट वाष्पीकरण गरी कपुरको डल्ला पनि बनाइन्थ्यो ।… सिंहदरबारभित्र लगाइएका किपका फूलहरूको अत्तर बन्थ्यो । यहाँ प्रत्येक बिहान हेलम्बु–सुन्दरीजल हुँदै पातहरूले बेरिएको भाँडाभित्र बरफ भित्रिन्थ्यो, हरेक बिहान मुख धुनलाई मात्रै मच्छेगाउँको दूधपोखरीबाट पानी भित्रिन्थ्यो ।…ठूलो कटुस, कार्नेसन, विदेशी फिरफिरे (मेपल/एसर पाल्माटम), जिङको बाइलोबा, म्याग्नोलिया सौलानजियानाजस्ता असंख्य वनस्पति यहीँको काठघरबाट अन्यत्र विस्तारित भएका हुन् ।’

असलमा सिंहदरबार थियो— ब्रिटिस औपनिवेशिक समयको चिह्न, जुन लामो समयदेखि सत्ता, संघर्ष र षड्यन्त्रको बिम्ब पनि थियो । यो हो— राणाहरूको पतन, प्रजातन्त्रको उदय, माटो सुहाउँदो पञ्चायत र गणतन्त्रसम्मको अनगिन्ती ऐतिहासिक घटनाहरूको साक्षी, राजनीतिक इतिहासको अविभाज्य हिस्सा, हाम्रा शासकीय मोडहरूको गवाह । युगको कठघरामा उभिएको सिंहदरबार आज परित्यक्त छ । र, यसको त्यो वैभव अतीत–स्मृति बनिसकेको छ ।

इतिहासकार राजेश गौतमको विचारमा नारायणहिटी दरबारअघि ‘सिंहदरबार’ रहनु द्वैध शासनको लक्षण थियो । ‘सिंहदरबारको अगाडि नारायणहिटी दरबार अर्थहीन रह्यो, जसले गर्दा नेपाली जनता शक्तिशाली व्यक्तिको अगाडि–पछाडि लाग्ने ‘नेपाली राजनीतिक संस्कार’ अनुरूप त्यो आधा शताब्दीभरि नेपाली जनताको केन्द्रविन्दु सिंहदरबार रह्यो,’ उनी भन्छन् । उनका अनुसार, राजा त्रिभुवनले सानै छँदा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई भनेका थिए, ‘तिमी यहाँ (नारायणहिटी दरबारमा) आएर बस, म त्यहाँ (सिंहदरबार) गएर बस्छु । त्यहाँ मानिस पनि धेरै आउँछन्, मलाई भेट्न पनि सजिलो हुन्छ ।

चन्द्रशमशेरले ‘सिंहदरबार’ नेपाल राष्ट्रलाई बेचेपछि यो नेपालका प्रधानमन्त्रीहरूको निवास–स्थान बन्यो । २९ वर्षे कार्यकालमा चन्द्रशमशेरको २८ वर्ष सिंहदरबारमै बित्यो, ३० मंसिर १९८६ मा उनी सिंहदरबारमै अस्ताए ।

त्यसपछिका प्रधानमन्त्री भीमशमशेरले ३ वर्ष शासन चलाए, उनको पनि सिंहदरबारमै मृत्यु भयो । भीमपछि जुद्धशमशेर १४ वर्षसम्म प्रधानमन्त्री भए । ‘७ फागुन २००७ पछि सिंहदरबार तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा आयो र मोहनशमशेरलाई शीघ्राती शीघ्र सिंहदरबार छोड्नुपर्ने आदेश दिइयो । त्यसपछि मोहनशमशेर महाराजगन्जस्थित आफ्नै लक्ष्मी निवासमा फिर्ता गए, त्यसबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो ।’ (राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू) ।

यसरी सधैं शासनको केन्द्र रह्यो— सिंहदरबार । र, २००७ सालपछि प्रधानमन्त्री कार्यालयका रूपमा यहाँबाट अविराम शासन चलिरह्यो ।

चन्द्रशमशेरले सती प्रथा, दासदासी प्रथाको निर्मूल गर्ने घोषणा, राणा परिवारलाई वर्गीकरण गर्ने निर्णय, माधवराज जोशीलगायत कृष्णप्रसाद कोइराला जस्ता समाज सुधारकलाई देशबाट भाग्न बाध्य गराउने निर्णय, नेपाल–तिब्बतबीचको सन्धिको ख्याल नगरी योङ्गहस ब्यान्ड मिडानलाई सहयोग गर्ने निर्णय यहीँबाट गरेका थिए,’ गौतम भन्छन्, ‘भीमशमशेरको समयमा यहाँबाट त्यति धेरै महत्त्वपूर्ण घटना वा निर्णय भएनन् । जुद्ध शमशेरको समयमा भने यहाँ थुप्रै निर्णय भए, घटना घटे । महत्त्वपूर्ण घटना थियो– ‘ग’ वर्गका राणालाई उपत्यकाबाट निकाल्ने, नेपाल प्रजा परिषद्लाई दिइएको यातना र सजाय । यही घटना नै ‘राणाविरुद्ध’ क्रान्तिको बीजारोपण थियो । र, पद्मशमशेरले ‘नेपाल’ मा पहिलो संविधान निर्माण गर्ने घोषणा पनि यहीँबाट गरेका थिए ।

२४ भदौ २०८२ मा सिंहदरबारसँगै भष्म भयो— एउटा इतिहास पनि । तर, यो अग्नि–कथाले नेपालको राजनीतिलाई सायद नयाँ दृष्टिकोण र नयाँ पाठ पनि दिएको छ । विसं २०७२ को भूकम्पले चर्काएको सिंहदरबारलाई ८ म्याग्निच्युडको भूकम्प थेग्ने गरी पुनर्निर्माणपछि २०७७ मा सञ्चालनमा ल्याइएको थियो । भूकम्पले त हल्लाएन, तर सिंहदरबारलाई यो आगजनीले खरानी बनायो ।

इतिहासको कथावाचक हो सिंहदरबार । राणाकालीन बेलादेखि गणतन्त्रकालीन बेलासम्मका पात्र र प्रवृत्ति, आन्दोलन र उत्सवको साक्षी–भावको लामो आख्यान हो– सिंहदरबार, जसले आफ्नो गर्भगृहमा हुर्केका हजारौं जनसँग गहिरो संवाद गरेको छ ।

जेन–जीइतर प्रदर्शनकारीले आतंकित पारेको यो सहरको लय फेरि कोरिएको छैन, सन्नाटाको मैलो च्यादर हटेको छैन । युद्धको विभीषिका प्रतीत हुने सहरमा धूवाँको साम्राज्य त हटेको छ, तर अग्निकाण्डका गहिरा चिह्न र दागहरू सहरका सडक, गल्ली र आलिसान भवनहरूमा सर्वत्र छन् ।

– दीपक सापकोटा