काठमाडौँ, भदौ ३० : आदिल आलम अन्सारी र सन्दीप जोरालाई समेट्दै नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोली घोषणा गरेको हो । नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० तारिख सिरिज खेल्ने छ । आदिल र सन्दीपले राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको हो । आदिल सन् २०२२ पछि र जोरा सन् २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा पर्नुभएको हो ।
नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदानमा टी–२० सिरिज खेलेको थियो । दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












