09/07/2025, 23:10:37
आइतबार, भदौ २२, २०८२

राष्ट्रपतिसहित उच्चपदस्थ व्यक्तित्वहरूबाट इन्द्रजात्राको अवलोकन

©काठमाडौँ, २१ भदौ : राष्ट्रपति पौडेल-अवलोकन काठमाडौँको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा ऐतिहासिक इन्द्रजात्रा पर्वको अवलोकन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री केपी शर्मा ओलीलगायत।तस्बिर : किरणराज विष्ट/रासस

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाण्डौको हनुमाढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबार गद्दी बैठक पुग्नुभएको हो ।

२०८० सालदेखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थाल्नुभएको हो । उहाँसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुग्नुभएको थियो ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, अन्य जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवम् दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको हिजो मुख्य दिन हो ।

गुठी संस्थान धार्मिक एवम् सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालका अनुसार आज आइतवार माथिल्लो टोलमा रथयात्रा गराइने छ । आउँदो २६ गते बिहीवार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।

भदौ २६ गते राति १० बजेर ३२ मिनेटमा इन्द्रध्वजपतन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानमा रहेकाे  बागमती किनारमा पुर्‍याएर सेलाउने परम्परा रहेको धार्मिक एवम् सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..