काठमाडौं, भदौ ९ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो ।
समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति पदाधिकारीविहीन भएकाले मन्त्रालयमा पठाइएको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले राससलाई जानकारी दिनुभयो ।
इन्द्रजात्राको साइतको कार्यक्रम आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको हो । आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत छ ।
समितिले दिएको आज रातिको साइतमा काटिने लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ । इन्द्रजात्राको परम्परागत नियमअनुसार भोटाहिटीबाट अघि बढाउनुलाई ‘नगर प्रवेश’ भनिने गरेको उहाँले बताउनुभयो ।
यही भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानको साइत छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने शास्त्रीय विधि छ । इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो। यस दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत मुख्य व्यक्तिहरुले कुमारी इन्द्रयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । यसै दिन तल्लो टोलमा यात्रा गराइन्छ । भदौ २२ गते आइतबार माथिल्लो टोल यात्रा गराइन्छ । यात्राका लागि साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ ।
यही भदौ २६ गते बिहीबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन राति १०ः३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत रहेको छ । आश्विनकृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गरिन्छ । इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ ।
भाद्र शुक्ल द्वितीयादेखि सुरु हुने इन्द्रजात्राको साइतका कार्यक्रम आश्विन कृष्ण चतुर्थीका दिन सकिन्छ । यसरी १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि हुने गरेको छ ।