08/18/2025, 10:58:25

बसाइँसराइले रित्तियो डडेलधुराको पसेलागाउँ


डडेलधुरा, भदौ २ गते । करिब ४० भन्दा बढी परिवार सङ्ख्या रहेको अजयमेरु गाउँपालिका–४, पसेलागाउँमा अहिले जम्मा १२ परिवार मात्रै छन् । गाउँमा विद्युत्, खानेपानीका धारा, दुईतिरबाट कच्ची सडक, गाउँनजिकै करिब आधा घण्टाको पैदल दुरी चिपुरमा माध्यमिक विद्यालय र स्वास्थ्य प्रहरी चौकी छन् । उब्जाउका हिसाबले पनि पसेलालाई राम्रै मानिन्छ । चरिचरनका लागि प्रशस्त घाँसे जमिन र जङ्गल पनि छन् । यतिका सम्भावना र आधारभूत सुविधा हुँदाहुँदै गाउँ भने बसाइँसराइले रित्तो भएको छ ।

पसेलागाउँ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको पुख्र्यौली गाउँ पनि हो । यस गाउँमा सार्की, पाण्डेय र विष्ट बसोबास गर्दै आइरहनुभएको छ । सङ्घीयता व्यवस्था लागु हुनुअघि डडेलधुराका १८ वटा गाउँ विकास समितिमध्ये चिपुर एक गाविस थियो । त्यो बेला पसेलागाउँ सिङ्गो वडा नम्बर ७ थियो । २०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनका बेला पसेलागाउँमा ९६ मतदाता थिए । जनसङ्ख्या थियो करिब पाँच सय बढी तर हाल भने यो गाउँको जनसङ्ख्या करिब एक सय मात्रै छ ।

बाख्रा चराउँदै गर्नुभएकी ७१ वर्षीय कलावती विष्टले आफ्नो श्रीमान्, जेठो छोराबुहारी र नाति कञ्चनपुरको लालपुरमा बस्दै आउनुभएको बताउनुभयो । आफू भने कान्छो छोरासँग पसेलागाउँमै बस्दै आएको उहाँले बताउनुभयो । पहाडमा काम गर्न सजिलो नहुने भएकाले तराई जाने गरेको उहाँले बताउनुभयो ।

परिवारमा सङ्ख्या बढ्दै जाँदा भएको जमिनको खण्डित बाँडफाँटले बसाइँसराइ बढेको स्थानीय टीकाराम पाण्डेयले बताउनुभयो । उहाँले आफू पनि तराई नै बस्दै आएको हो, साउनको महिनामा देवताका मन्दिरमा दियो बाल्न मात्रै आएको बताउनुभयो । एक बुवाका पाँच वटा छोरा हुँदा पाँच रोपनीमा एक एक रोपनी भाग प¥यो । उहाँले भन्नुभयो, “त्यो पनि एकै ठाउँको जमिन नबाँडी घरमै भाग हाल्नेदेखि आँगन, करेसाबारी, पाखोबारी, खेत, घाँस काट्ने जमिन बाँड्दा ससानो भाग पर्ने भयो । एकलौटी जमिन बाँडफाँट नहुँदा काम गर्न सबैतिर जानुपर्ने हुँदा कामको बोझ बढ्यो । अनि एकलौटी जमिन र सुविधा खोज्न थालेपछि सबैको रोजाइमा तराई प¥यो । अहिले आएर गाउँघर सुनसान बन्यो ।

एक/दुई वर्षमा थप परिवार पनि तराई झर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । कुल देवताको पूजाआजा र गौराको बेला बिरुडा राख्ने वर्ष गाउँवासी सबै थातथलो फर्किने गरेको उहाँले बताउनुभयो । यस वर्ष गौरामा बिरुडा पर्ने भएकाले गाउँछोडी गएका अधिकांश फर्किने उहाँले बताउनुभयो तर गौरा पर्वसँगै सबै गाउँले आआफ्नो बसाइँ भएको क्षेत्रमा फर्किने छन् ।