कञ्चनपुर, साउन ३० : कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने कार्य धमाधम अगाडि बढाइएको छ । असार २८ गते छाउगोठमा बसेका २८ वर्षीय कमला दमाईंको सर्पले डसेर ज्यान गएपछि सबै पालिकामा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो । त्यसै अनुरूप हाल कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले छाउगोठ भत्काउन थालेका छन् ।
यी पालिकामा हालसम्म ५९ छाउगोठ भत्काइएका छन् । बुधबार वडा नम्बर १ हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको कृष्णपुर नगरपालिकाले जनाएको छ । यसअघि कृष्णपुर नगरपालिकाले १६ छाउगोठ र वेदकोट नगरपालिकाले २३ छाउगोठ भत्काइएको थियो । पालिकाहरूले छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइने जनाएका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र भीमदत्त नगरपालिकाले भने पालिकाहरूमा छाउगोठ नभएको दाबी गरेका छन् । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिसिंह धामीले भीमदत्तका १९ वटै वडामा छाउगोठ नभएको जानकारी आएको बताउनुभयो ।

“छाउगोठ भत्काउन सबै वडालाई पत्र पठाइएको थियो,” उहाँले भन्नुभयो, “वडा कार्यालयहरूले छाउगोठ बनाएको नभेटिएको जानकारी पालिकालाई गराएका छन् ।” भीमदत्तमा छाउगोठ नबनाउन कार्यविधि नै निर्माण गरेर लागु गर्ने तयारी गरिएको सूचना अधिकारी धामीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका १० वटै वडामा छाउगोठ बनाएको नभेटिएको सूचना अधिकारी सुरेशसिंह साउदले बताउनुभयो । उहाँका अनुसार दोधारा चाँदनीमा महिलाले छुट्टै छाउगोठ नबनाएका तर घरमा अलग्गै बस्ने कोठा बनाएको भेटिएको छ ।
छ वटा वडा रहेका लालझाडी गाउँपालिकाका पाँच वडामा रानाथारूको बसोबास रहेको पालिकाले जनाएको छ । रानाथारू समुदायले महिनावारी नमान्ने र अन्य समुदायले पनि गाउँपालिकामा छाउगोठ बनाएको नभेटिएको सूचना अधिकारी नरेश चौधरीले बताउनुभयो । पुनर्बास नगरपालिका, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न र भए भत्काउन वडा कार्यालयहरूलाई परिपत्र गरिएको जनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















