२५ साउन, काठमाडौं : आजकल हामी अधिकांश मानिसलाई मोबाइल फोनले फनफनी घुमाउँछ । सुतेको भए पनि जुरुक्क उठाउँछ । अनि हामी पनि उठेपछि पनि त्यही मोबाइल फोन नै चलाउन थाल्छौँ । मानौँ त्यो हाम्रो जिन्दगीभन्दा पनि प्यारो छ । पहिला पहिला साना बालबालिका रुन थाले भने हजुरआमा, आमा, दिदीलगायत ठुलाबडाले फकाउनुहुन्थ्यो, खाना खान मानेनन् भने को खाई ? को खाई ? भनेर डुलाउँदै, खुसी बनाउँदै खाना खुवाउनुहुन्थ्यो । अहिले त्यही मोबाइल फोनले फकाइदिन्छ, खाना पनि खुवाइदिन्छ अनि एकै ठाउँमा राखी पनि दिन्छ, भिडियो, कार्टुनसमेत देखाइदिन्छ । कामकाजी हामी सबैलाई सजिलो त भएको छ । हुन त मोबाइल फोनको नकारात्मक कुरा मात्र छैनन्, धेरै सकारात्मक पनि छन् । हामी सबैलाई थाहा छ, संसारमा सबै कुराका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् ।
विसं २०८० मा ‘भोइस अफ चिल्डे«न’ ले नेपालमा गरेको अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ता ३०० बालबालिकामध्ये ४२ प्रतिशतले मनोरञ्जन, ३५ प्रतिशतले अध्ययन, १९ प्रतिशतले कुराकानी र चार प्रतिशतले समाचार थाहा पाउनका लागि अनलाइनमार्फत सामाजिक सञ्जाल चलाउने गरेको बताएका छन् । हामीले जे कुराको पनि सही सदुपयोग गरेनौँ भने त्यसले अवश्य नै हानि गर्छ अनि बालबालिका वा वयष्क जो भए पनि जोखिममा पर्छन् ।

अत्यधिक मोबाइल फोन चलाएर आँखा जचाउन जाँदा उपचार नै नहुने गरी आँखाको नशा नै सुकेका घटना हाम्रा घर घरमा छन् । आँखा अस्पतालमा बिरामी बढेका छन्, अझ साना साना उमेरका बिरामी । तपाईं हामी नै मनन गरौँ त दिनमा कति समय हामी मोबाइल फोनमार्फत अनलाइन वा सामाजिक सञ्जालमा हुन्छौँ ? अझ अनलाइन गेमको लत त छुट्टै नै छ । साना बालबालिकालाई मोबाइल नचलाउ, खेल नखेल भन्छौँ तर हामीचाहिँ राताराता आँखा पारेर त्यही मोबाइल र अनलाइनमा दिनरात नै बिताइदिन्छौँ, खाना पनि चाहिँदैन कहिलेकाहीँ त । हाम्रो महत्वपूर्ण समय सामाजिक सञ्जालको लत र अनलाइन खेलले बर्बाद पारिरहेको छ । कुनै कुरामा अति आशक्त हुनु नराम्रो हो, यो कुरा हामी सबलाई थाहा छ तर छोड्न सक्दैनौँ । साँच्चै अहिलेको डिजिटल दुनियाँमा मोबाइल लत घर घरको कहानी, बानी र अभ्यास भइसकेको छ ।

हाम्रो समाजमा चलनचल्तीको भनाइ नै छ नि राम्रो चिज अलि खतरनाक हुन्छ । अब भन्नुहोस त मोबाइल कति राम्रो छ, यसले चाहेको जति मनचिन्ते काम गरिदिन्छ, के चाहिँ गर्दैन र ? फोनको काम, घडीको काम, क्यामेराको काम, घण्टीको काम, रेडियोको काम, टेलिभिजनको काम, रेकर्डरको काम, मनोरञ्जनको काम, क्यालकुलेटरको काम, टर्चलाइटको काम, स्क्यानरको काम, बैङ्कको काम, कम्प्युटरको काम, खेलौनाको काम, किताबको काम, कापीको काम, पत्रिकाको काम, विद्यालय र क्याम्पसको काम, खाना अर्डर गर्ने काम, यातायातको साधन बोलाउने काम, सामान छान्ने र किन्ने काम, तास खेल्ने, लुडो खेल्ने, हरेकको काम, कस्तो चिज बनाएको होला त यो मोबाइल भन्ने चिज । यसैमा छ मज्जा अनि मानिस यसमा नलागेर के गर्नु त ? संसार जगत् सबै यसैमा नै छ, जे खोज्यो त्यही पाइन्छ ।

एक जना वकिलले भन्नुहुन्थ्यो मोबाइल र सामाजिक सञ्जाल त गुगलेश्वर महादेव नै हुन् । अर्को कुरा मानिसहरू वा जो पनि चाहिनेभन्दा बढी मात्रामा केही कुरामा आशक्त वा निर्लिप्त भए भने त्यसले विनाश निम्त्याउँछ । अति भएपछि खती हुन्छ भने जस्तै, गुण अर्थात् सक्खर धेर खायो भने तितो हुन्छ भन्ने हाम्रो नेपाली उखान पनि त छ । सर्वगुण सम्पन्न भएका चिजबिज वा मानिस पनि खराब चाहिँ हुन्छन् नै भन्ने कुरा हो नि यो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सूचना जारी गर्दै “बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन् । अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ र उनीहरूको सर्वाङ्गीण विकासमा असर पर्छ ।” भनेर अभिभावकलाई सुझाव दिएको छ । मन्त्रालयले बालबालिकालाई जोगाउन अभिभावकलाई सचेत गराएको छ त्यसैले हामी सबै सचेत हुनु पर्छ । हाम्रा बानी नै बालबालिकाले टपक्क सिक्ने हुन् । हामी आफू मोबाइलमा सामाजिक सञ्जाल चलाउने, भिडियो हेर्ने अनि बालबालिकालाई हुँदैन भन्दा उनीहरूको ध्यान कसरी एकत्रित हुन्छ र । हामी वयष्क वा अभिभावकलाई सबै कुरा थाहा छ तर व्यवहारमा उतार्न जरुरी छ । बालबालिकालाई जोगाउन र आफू पनि मानसिक, शारीरिक, तथा सामाजिक रूपमा स्वस्थ हुनका लागि मोबाइलबाहेक अन्य गतिविधिमा ध्यान दिऔँ ।
- राजु घिमिरेWhat if you could work from Anywhere?
Explore More with something that can change your Life!










