१३ साउन, डडेलधुरा : डडेलधुराको आलीताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ ।
साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रेको विषालु च्याउ खाएर बिरामी परेका उनलाई आफन्तले दुई दिनपछि मात्र अस्पताल पुर्याएका थिए । शरीरमा विष फैलिएका कारण उनी गम्भीर अवस्थामा पुगेका थिए । अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो । अस्पतालको आईसियुमा राखेर उपचार गरिए पनि उनको अवस्था सुधार हुन सकेन ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दका अनुसार बोहराको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । वर्षायाम सुरु भएपछि खेतबारी तथा डाँडापाखामा उम्रने जंगली च्याउ पहिचान नगरी खाने क्रममा यस्तो घटना हुने गरेका कारण प्रहरीले सर्वसाधारणलाई जंगली च्याउ नखान र सतर्क रहन आग्रह गरेको छ ।