07/13/2025, 22:23:54

सिरहाको औरहीबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ


सिरहा, २९ असार : सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन् । उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार भएका थिए । फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..