कञ्चनपुर, २६ असारः सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा आज अनुसन्धान व्यवस्थापना इकाइ कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाखको आर्थिक सहयोगमा उक्त इकाइ स्थापना गरिएको हो ।
गुरुपूर्णिमाका अवसरमा आयोजित एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा पूर्वमुख्यमन्त्री रावलले परम्परागत शिक्षण पद्धतिलाई नवप्रवर्तनयुक्त शैक्षिक प्रणालीसँग जोड्न तथा नीति निर्माणमा आधारित तथ्य अनुसन्धानलाई संस्थागत गर्न यो इकाइ महत्वपूर्ण रहने बताउनुभयो । उहाँले अनुसन्धानमैत्री वातावरण निर्माणमा यसले दीर्घकालीन योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
प्रदेश सरकारबाट उपलब्ध बजेटमार्फत स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबललगायत सामग्री खरिद गरिएको छ । यसअघि, अघिल्लो आर्थिक वर्षमा व्यवस्थापन सङ्कायमा आइसिटी ल्याव स्थापना गरिएको थियो भने आगामी आवमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको जानकारी दिइएको छ ।