06/27/2025, 16:27:24

कञ्चनपुरको दोधराचाँदनीमा बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ ।


दोधारा चाँदनी (कञ्चनपुर), १३ असार : टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन् । झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन् । बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ ।

यहाँका स्थानीयहरूले विपद्सँग जुध्न गरेको पूर्वतयारीको एउटा अभ्यास हो । जसले उनीहरूलाई विपद्मा खोज तथा उद्धार गर्दा कसलाई बढी प्राथमिकता दिने भन्ने सङ्केत गरेको छ । “यहाँका सबै घरमा रातो झण्डा गाडिएको छ बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपाङ्ग भएकाका घरमा अपाङ्गताको चित्र र बालबालिका र वृद्धवृद्धा नभएका घरमा सादा झण्डा राखिएको छ ।” यहाँका स्थानीय रुपा सुनारले भन्नुभयो, “बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ ।” तीनतिर जोगबुडा नदी र अर्कातर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

कञ्चनपुरको दोधराचाँदनी–१० सहित सातवटा वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको घोषणासँगै यहाँका स्थानीय विपद्सँग जुध्न आफैँ पूर्वतयारीमा जुटेका छन् । उनीहरूले विपद् जोखिम नक्साङ्कन गरी त्यसका आधारमा घरमा राता झण्डा लगाएका हुन् । जसमा बालबालिका, अपाङ्गता, अशक्त, सुत्केरी तथा ज्येष्ठ नागरिकको सङ्केत बनाइएको छ । यसले बाढीको समयमा उद्धारकर्मीलाई कुन घरमा कस्ता व्यक्ति छन् ? कसलाई प्राथमिकता दिने भनेर थाहा पाउन र सोही आधारमा उद्धार गर्न सहज हुने स्थानीय बताउँछन् ।

निर्मला सुनारका अनुसार विपद्को उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेर त्यसको पूर्वतयारीमा लागेका छौँ । सबै घरमा देखिने स्थानमा विभिन्न सङ्केतका झण्डा राखेका छौँ, यसले विपद्मा उद्धार गर्न सहयोग पुर्याउँछ । उहाँले सरकारले दोधारा चाँदनीका तीन वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बताउँदै ती जोखिममा रहेका बस्तीमा पूर्वतयारीमा लागेको बताउनुभयो ।

उहाँका अनुसार यहाँका कुतियाकवर, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर बस्ती, सुन्दरनगर, कञ्जभोज, बडुवाल टोल, ढकनाघाट, प्रगति टोल र पटराखल्ला लगायत बस्तीमा स्थानीयहरू पूर्वतयारीमा जुटेका छन् । दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले विपद्को पूर्वतयारीअन्तर्गत बाढीको जोखिममा रहेका बस्तीका घरमा साङ्केतिक रातो झण्डा राखिएको जानकारी दिनुभयो । त्यहाँका ४५ घरमा रातो झण्डा राखिएको छ । जोगबुडा र महाकाली दुवै नदीले कटानका कारण यहाँका तीन वडा हरेक वर्ष प्रभावित हुँदै आएका छन् । ४९ परिवारको बसोबास रहेको कुतियाकवर बस्तीमा अहिले ३९ परिवारको बसोबास छ । बाढीकै कारण केही भारत पसेका छन् भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र पलायन भएका छन् ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ । करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिँदै गएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ