06/18/2025, 20:06:08

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति


काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उहाँले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले  राजनीति तर्फको सम्मान शान्ता मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु १ लाख रहेको छ ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र  संविधानले राखेको लक्ष्य पूरा हुनेछ । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सुक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नुभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पुष्पलाल कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उहाँ  माक्र्सवादी र वर्ग संघर्र्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान सम्भव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो ।

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “पुष्पलालको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु ।

राष्ट्रपति पौडेलले  पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलालको विचार नेपालको बामपन्थि आन्दोलनलाई नेतृत्व दिन सार्थक रहेको विचार व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का नेता डा बेदुराम भुषालले पुष्पलालले बामलोकतान्त्रिक धारलाई साथसाथ लैजानुपर्छ भन्ने वितचार २०४६ सालको परिवर्तनले सिद्ध गरेको  बताउनुभयो ।

सम्मानित व्यक्तित्व राजनीतिज्ञ मानवीले तत्कालीन पञ्चायत व्यवस्थाको अप्ठ्यारो परिस्थितिमा परिवर्तनका लागि आफूले जुनकिरी झै बनेर काम गरेको अनुभव सुनाउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पुरस्कार स्थापनाको उद्देश्य र सम्मानित व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ