कञ्चनपुर, ४ असारः कैलाली र कञ्चनपुरका इँटाभट्टामा पालिएका घोडा र खच्चरमा ‘ग्ल्यान्डर्स’ रोग देखा परेको छ । इँटाभट्टामा घोडा र खच्चर मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको पशु चिकित्सकसहितको टोलीले जाँच गर्ने क्रममा ‘ग्ल्यान्डर्स’ रोग पत्ता लागेको हो ।
“कैलालीको जानकी गाउँपालिका–३ मा सञ्चालित इँटाभट्टामा पालिएका घोडामा ‘ग्ल्यान्डर्स’ रोग देखियो”, प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले भन्नुभयो– “त्यसपछि बेदकोट नगरपालिका–६ स्थित इँटाभट्टामा पालिएका खच्चरमा त्यो रोग देखा परेको छ ।”
घोडाको रगतको नमूनाको पिसिआर परीक्षणका लागि काठमाडौँंस्थित प्रयोगशालामा पठाएकामा त्यसबाट जीवाणुबाट सर्ने ‘ग्ल्यान्डर्स’ रोग भएको पत्ता लागेको उहाँले बताउनुभयो । इँटा बोक्न भारतबाट घोडा–खच्चर ल्याउने गरेकाले ‘ग्ल्यान्डर्स’ रोग फैलिएको हुनसक्ने उहाँले बताउनुभयो ।
‘ग्ल्यान्डर्स’ रोग देखापरेका जनावरमा उच्च ज्वरो आउनका साथै नाक र आँखाबाट तरल पदार्थ बग्ने, फोक्सोलगायत श्वासप्रस्वास प्रणालीमा असर पर्ने गर्दछ । यसैगरी, छालामा गिर्खा देखिने र क्रमशः निको हुँदै तारा आकारको डाम रहने र समयमा उपचार नपाएमा घोडा खच्चरको मृत्यु हुने गर्दछ । यो मानिसमा पनि सर्न सक्ने भएकाले यसबारे सचेत हुनुपर्ने वरिष्ठ पशु चिकित्कसक जोशी बताउनुहुन्छ ।