बिहिबार, पुष ११, २०८१

ईपिजी प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्रीलाई फुर्सद नमिलेको हुनसक्छ : प्रधानमन्त्री ओली


२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। शनिबार बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले ईपिजी बनाउनेहरू नै प्रधानमन्त्री रहेकाले उक्त प्रतिवेदन अगाडि बढ्ने बताएका हुन्।

‘दुई वटै प्रधानमन्त्री त्यही ईपिजी निर्माण गर्नेहरु नै छौं । त्यो अगाढि बढ्ला,’ उनले भने। प्रधानमन्त्री ओलीले ईपिजीको प्रतिवेदन बुझ्न आफू फुर्सदमै भएपनि भारतका प्रधानमन्त्रीलाई फुर्सद नमिलेको हुनसक्ने पनि बताए।

‘नेपालको प्रधानमन्त्रीहरु त फुर्सदमा नै देखिन्छ । अब म पनि यहाँ पुस्तक विमोचन गरेर हिँडेको छु । ईपिजीको रिर्पोट बुझ्नै नभ्याउने त के हुन्छ र । हामीहरुले चाँही बुझ्न नभ्याएको छैन । तर भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन,’ उनले भने। यसबारेमा आफूले बुझ्ने पनि प्रधानमन्त्री ओलीले बताए। उनले स्वार्थ र कायरता ढाक्नका लागि भूराजनीति शब्दको आड लिने काम भइरहेको पनि बताए।

‘भूराजनीति हाम्रा निम्ति कुनै कमजोरीको विषय बन्नुहुँदैन । त्यस्तो आवश्यक पनि छैन। हामीले खुलस्त कुरा गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने। नेपाल र भारतबीचको समस्यालाई समाधान हुन सक्ने भएकाले त्यसलाई ठूलो समस्याका रूपमा लिन नमिल्ने उनको भनाइ छ।

‘सहनशीलता, फराकिलो मन भयो र न्यायोचित मनका साथ कुराकानीमा बस्ने हो भने समाधान गर्न नसकिने भन्ने कुरै हुँदैन । गर्न सकिन्छ । त्यसकारण समग्र समस्याको समाधान गर्न हामीले अगाडिदेखि कुरा उठाउँदै आयौं,’ प्रधानमन्त्री ओलीले भने।

२०५१ मै एउटा गोष्टीमा दिल्ली जाँदा आफूले सोही कुरा उठाएको प्रधानमन्त्री ओलीले बताए। २०४६ को परिवर्तनपछि मध्यावधि निर्वाचनअघि पनि नेपाल-भारतबीचको समस्या समाधानका विषयमा कुरा उठाएको उनले बताए।

‘पछि प्रधानमन्त्रीको हैसियतमा जाँदाखेरी पनि मैले कुराहरु उठाएँ। हाम्रा बीचमा एउटा इभिडेन्ट पर्सन ग्रुप बनाऔं । त्यसलाई छानविन गर्न दिऔँ । त्यसले निष्कर्ष र सुझावसहितको प्रतिवेदन हामीलाई देओस् । र हामी त्यसपछि कसरी अगाडि बढ्ने भन्ने कुरा बसेर छलफल गरौं। कच्चा हिसावले हातमा केही नभईकन छलफल गर्ने भन्दा त्यसरी छलफलमा केन्द्रित हुँदा राम्रो होला भन्ने कुरा भएपछि भारतीय प्रधानमन्त्रीजी र मैले ईपिजी बनाउने भनेर भन्यौं । बनायौं,’ उनले भने।

कतिपय सम्बन्धमा एउटा निष्कर्षहरु केही निकालेर हामीलाई बुदाबुदामा सिफारिस गरोस, सल्लाह देओस् भनेर प्रबुद्ध व्यक्ति समूह बनाइएको उनले बताए । ‘त्यसले दिएको होला । २ वर्ष लगाएर उहाँहरुले अध्ययन गर्नुभयो । कहिले इण्डियामा, कहिले नेपालमा बैठकहरु गर्नुभयो । र निष्कर्ष निकाल्नु भयो । तर बुझाउने मौका उहाँहरुले पाउनुभएको छैन,’ उनले भने। अब भारतीय पक्षले पनि समय निकाल्ने आफूलाई लागेको प्रधानमन्त्री ओलीले बताए। उनले उक्त प्रतिवेदन बुझ्न नेपाल सँधै तत्पर रहेको पनि बताए।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading