12/29/2025, 05:01:58
आइतबार, पुष १३, २०८२

नियमितका लागि कोही तयार नभएपछि अब विशेष महाधिवेशन : गगन थापा


काठमाडौँ, कात्तिक २७ : नेपाली कांग्रेस महामन्त्री गगन थापाले नियमित महाधिवेशनका लागि कोही तयार नभएपछि अब विशेष महाधिवेशनमै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा थापाले मंसिर २७ मा विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन् । इच्छाशक्ति भएमा निर्वाचनअगाडि नै पार्टीको विशेष महाधिवेशन गर्न सकिनेमा उनको जोड छ ।

पार्टीलाई आम सुधार नगरी निर्वाचनमा जाँदा नागरिकले विश्वास नगर्ने भन्दै पार्टीको महाधिवेशन अनिवार्य गरेर मात्रै जानुपर्ने उनले बताए । थापाले पछिल्लोपटक पार्टीमा सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकतामा राख्दा विचलन बढेको र नवयुवाहरु आक्रोशित भएको धारणा राखेका थिए ।

निर्वाचनअगाडि पार्टीभित्रको आन्तरिक विषयमा प्रवेश गर्न नहुने भनेर संस्थापनपक्षले लिइरहेको अडानको प्रतिवाद गर्दै थापाले भने, ‘सधैंभरि महाधिवेशन पार्टीको आन्तरिक विषय हुँदैन । यो राष्ट्रिय विषय हो । महाधिवेशनले व्यापक छलफल गर्छ । अब पुरानै कांग्रेस होइन, सच्चिएर आएको कांग्रेस हो भनेर भन्न सकिन्छ । सच्चिएर जाँदा मात्रै आम नागरिकले विश्वास गर्न सक्छन् ।

बैठकमा थापाले विगतमा आफूबाट दर्जंनौ गलत भएको भन्दै त्यी घटनाबाट पाठ सिकेर अघि बढ्ने बताएका थिए ।