11/13/2025, 23:05:30
बिहिबार, कार्तिक २७, २०८२
सहभागितामूलक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद र बहुसांस्कृतिकतावाद र राष्ट्रिय एकता

कुलमानको संरक्षकत्वमा गठित ‘उनेपा’ का के हुन् उद्देश्य र प्रतिबद्धता ?

समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूलाई संगठित गरी समुन्नत, समृद्ध र सामाजिक न्यायसहितको स्वाभिमानी राष्ट्र निर्माणका लागि शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन


काठमाडौँ, कात्तिक २७ : उज्यालो नेपाल पार्टी (उनेपा) कुलमान घिसिङको अगुवाइमा अगाडि बढ्ने भएसँगै नयाँ कार्यसमिति र विधान लगायतका कागजात निर्वाचन आयोगमा अद्यावधिकका लागि दर्ता भएको छ ।

हाल घिसिङ अन्तरिम सरकारमा मन्त्री रहेकाले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर दलको विवरण अद्यावधिक गरिएको हो । मन्त्री पद छाडेपछि घिसिङ नै पार्टी अध्यक्ष बन्ने उपाध्यायले बताएका छन् ।  पार्टीका उद्देश्य के हुन् र ती पूरा गर्ने प्रतिबद्धता के रहने छन् भन्ने पनि उनेपाले विधानमा उल्लेख गरेको छ । उनेपाका नेताहरूले पार्टी किन गठन गर्नुपर्‍यो भन्ने प्रश्नको जवाफ पनि विधानमा नै दिएका छन् ।

नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनबाट जनताले अवस्था परिवर्तन हुने आशा र भरोसा गरेको तर ‘राज्य सञ्चालन गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वको निष्ठा र इमानदारितामाथि जनताले पटकपटक प्रश्न गरिरहेको’ अवस्थामा नयाँ राजनीतिक दल गठन गर्नुपरेको उनेपाको विधानमा उल्लेख छ ।  जेन-जी आन्दोलनलाई ‘अभूतपूर्व’ व्याख्या गरेको उनेपाले दीर्घकालीन प्रणालीगत सुधारमा केन्द्रित बन्ने तथा नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको संघर्षको गाथालाई निरन्तरता दिने विधानको प्रस्तावनामा उल्लेख गरेको छ ।

उनेपाले बहुलवादमा आधारित लोककल्याणकारी राज्यको अवधारणाको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ । जनताको मुहारमा उज्यालो ल्याउन राष्ट्रिय पुँजीको विकास गरी आर्थिक समृद्धि मार्फत जीवनस्तरमा आपूल परिवर्तन ल्याउने यो पार्टीको प्रतिबद्धता छ । ‘पार्टीको सञ्चालन तथा व्यवस्थापन लोकतान्त्रिक, समावेशी, स्वच्छ, विश्वसनीय, पारदर्शी र व्यवस्थित’ हुने विधानमा उल्लेख छ ।

सहभागितामूलक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद र बहुसांस्कृतिकतावाद र राष्ट्रिय एकता‘ लाई उनेपाले दलको आधारभूत सिद्धान्त हुने उल्लेख गरेको छ ।

यो पार्टीले १५ वटा प्रतिबद्धताका बुँदा पनि विधानमा लेखेको छ । जसमा संवैधानिक सर्वोच्चता र विधिको शासन, बहुलवादमा आधारित लोककल्याणकारी राज्य व्यवस्था, नागरिक स्वतन्त्रता र मानवअधिकार, संस्थागत सुधार, पारदर्शिता र जवाफदेहिता, सुशासन र प्रभावकारी सेवा प्रवाह गर्ने यो दलको प्रतिबद्धता छ । त्यस्तै, उदार अर्थतन्त्र, आर्थिक समृद्धि र दिगो विकास, प्रेस स्वतन्त्रता र सूचनाको अधिकार, योग्यताका आधारमा निष्पक्ष चयन प्रणाली, मानवतावादी मूल्य मान्यता, नविनता र प्रविधिमैत्री शासनका लागि पनि प्रतिबद्धता जनाइएको छ । समता र समानतामूलक समावेशिता, वातावरणीय अधिकार र जलवायु न्याय, डिजिटल डेमोक्रेसी, युवामा आधारित नेतृत्वप्रति प्रतिबद्ध रहने विधानमा उल्लेख गरेको उनेपाले सन्तुलित परराष्ट्र नीति अपनाउने उल्लेख गरेको छ ।

उनेपालेको विधानमा पार्टीका उद्देश्य संविधान र ऐनको अधिनमा रहेर अगाडि बढ्ने उल्लेख छ । ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूलाई संगठित गरी समुन्नत, समृद्ध र सामाजिक न्यायसहितको स्वाभिमानी राष्ट्र निर्माणका लागि शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन‘ गरेर पार्टीका राजनीतिक उद्देश्य पूरा गर्ने विधानमा उल्लेख छ ।

उनेपाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने पहिलो उद्देश्य लिएको छ । ‘सामुदायिक समाजवादको मूल्य र सिद्धान्तलाई व्यवहारमा उतारी, पूर्ण समावेशी सहभागिता र सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने ।

नेपालको गौरवपूर्ण इतिहासका साथै राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको संरक्षण गर्दै समुन्नत, विकसित, स्वाभिमानी राष्ट्र निर्माण गर्ने उद्देश पनि यो पार्टीले लिएको छ । ‘पार्टीको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित र पारदर्शी बनाउनुका साथै राजनीतिलाई सुसज्जित, सुसंकृत, जनउत्तरदायी, मर्यादित र नैतिकवान बनाउने,’ उनेपालको विधानमा भनिएको छ, ‘मानवअधिकारको पूर्ण सम्मान गर्दै प्रत्येक नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृति र धार्मिक अधिकार तथा वैयक्तिक स्वतन्त्रताको सुनिश्चितता गर्ने ।

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै बहुसांस्कृतिक विविधतालाई राष्ट्रको शक्ति र विकासको स्रोतको रूपमा स्थापित गर्ने उद्देश्य लिएको उनेपाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थापन गर्ने भनेको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थापन गर्दै सञ्चार माध्यमको स्वतन्त्रता सुनिश्चितता गर्ने तथा जनतासम्म सूचनाको पहुँच अभिवृद्धि गर्ने,’ उनेपाले निर्वाचन आयोगमा बुझाएको विधानमा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने कुरामा जोड दिएको यो पार्टीको उद्देश्यमा पनि ती कुरा उल्लेख छन् । ‘सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाई सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र सार्वजनिक विश्वसनीयता अभिवृद्धि गर्ने,’ उनेपाको उद्देश्य छ ।  सामाजिक र आर्थिक दृष्टिले पिछडिएका लिंग, वर्ग, जातजाती, समुदायका व्यक्तिलाई समान पहुँच र अधिकार सुनिश्चित गर्ने उद्देश्य पनि यो पार्टीको छ ।

कृषि, पर्यटन, उद्योग, जलविद्युत, पूर्वाधार विकास, उद्यमशीलता र दक्ष मानवस्रोतको विकास गरी दिगो आर्थिक विकास र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने‘ उद्देश्य लिएको उनेपाले सूचना प्रविधिको विकास र डिजिटल पूर्वाधार विकास गरी आधुनिक अर्थतन्त्र निर्माण गर्ने भनेको छ ।  उनेपाले सामाजिक न्यायसहितको उदार अर्थतन्त्र अंगाल्ने पार्टी निर्माण गर्ने उद्देश्य लिएको छ । ‘समावेशितालाई न्यायको प्रारम्भ, सहभागितालाई लोकतन्त्रको आत्मा, सेवा नै नेतृत्वको धर्म र योग्यताको सम्मान नै विकासको आधारको रूपमा स्थापित गर्ने‘ उनेपाको उद्देश्य छ ।

यो पार्टीले युवा केन्द्रित रोजगारमुखी नीति अवलम्बन गरी नवप्रवर्तन तथा सिर्जनात्मक अर्थतन्त्रको विकास मार्फत समग्र आर्थिक प्रगति र समृद्धि सुनिश्चित गर्ने भनेको छ । ‘योग्यतामा आधारित शासन प्रणाली स्थापना गरी दक्ष, इमानदार र जिम्मेवार नेतृत्वद्वारा पारदर्शी, प्रभावकारी र जनउत्तरदायी राजनैतिक तथा प्रशासनिक संरचना निर्माण गर्ने‘ उद्देश्य पनि यो पार्टीको छ ।

असंलग्न परराष्ट्र नीतिमा चलिरहेको नेपालका लागि उनेपाले भने फरक खालको नीति अंगाल्ने उद्देश्य लिएको छ । ‘बहुपक्षीयतामा सार्थक संलग्नता तथा बहुध्रुवीयमा रणनीतिक स्वायत्तता र सन्तुलित कूटनीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउने‘ र ‘अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, अभिसन्धि र प्रतिबद्धताहरूको वकालत, प्रभावकारी कार्यान्वयन, निगरानी र उत्तरदायित्व सुनिश्चित गर्ने ।

त्यस्तै, उनेपाको १ सय ५१ सदस्यीय संघीय कमिटी रहने उल्लेख छ । जसका पदाधिकारीहरूमा अध्यक्ष, निवर्तमान अध्यक्ष, कम्तीमा १ महिलासहित २ उपाध्यक्ष, महासचिव, कम्तिमा १ महिलासहित २ उपमहासचिव, कम्तिमा ३ महिलासहित ७ सचिव र कोषाध्यक्ष रहने विधानमा व्यवस्था छ । केन्द्रीय समितिमा एक तिहाइ महिला र एक तिहाइ युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिने भनिएको छ भने केन्द्रीय समितिको अवधि पाँच वर्षको रहने उल्लेख छ ।

उनेपाको संघीय कमिटी अध्यक्ष, पदाधिकारीहरू र संघीय सदस्यहरू समेतले एउटै पदमा लगातार दुई कार्यकाल भन्दा बढी पटक उम्मेदवार नै बन्न नपाउने व्यवस्था विधानमा नै गरेको छ । संघीय समितिबाट १० प्रतिशतको सचिवालय गठन गरिने पनि व्यवस्था छ ।  पार्टीले तीन प्रकारका पार्टी सदस्य रहने भनेको छ । जसमा शुभेच्छुक सदस्य, पार्टी सदस्य र मानार्थ सदस्य रहने विधानमा उल्लेख छ । पार्टी प्रवेश शुल्क र नवीकरण शुल्क दुई सय रुपैयाँ लाग्ने भनिएको छ भने शुभेच्छुक र मानार्थ सदस्यलाई शुल्क नलाग्ने भनिएको छ ।

उनेपाले निर्वाचन आयोगमा ५१ जनाको मात्रै समितिको नामावली पठाएको छ । निर्वाचन आयोगमा दर्ताका लागि पुगेको केन्द्रीय समितिको सूचीमा अध्यक्ष अनुपकुमार उपाध्याय छन् । उनी ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् ।

केन्द्रीय सदस्यहरूमा ताराप्रसाद जोशी, प्राडा महेन्द्रसुन्दर लावती, घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मा, टासी ल्हान्जोम, राजु थापा, विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, सीतादेवी पाण्डेय, ज्ञानेन्द्रकुमार तामाङ, डकेन्द्र सिं थेगिम छन् । आशुतोष विजय पन्त, डम्बर लावती, हिराप्रसाद सोती (किरण विक), सोमप्रसाद चौधरी, विजय कँडेल, अरविन्द साह, धनबहादुर मिक्चन, कुशल गुरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुभाष प्रधान, जितराम लामा, सरस्वता सुब्बा पनि रहेका छन् । विद्या श्रेष्ठ, रामेश्वर श्रेष्ठ, तुलसा वाइबा, रजिया बानु, महेन्द्रकुमार थापा, ज्योत्सना सैजु, अग्निमाया मेचे, कुसुम घिमिरे, मनोज लुहार, सुमी मोक्तान, सञ्जिव भट्टराई, सुजन श्रेष्ठ, देवकी पौडेल, रोशनी लामा तामाङ, बालिका चौधरी, भीमबहादुर कुमाल, खड्कबहादुर बस्नेत, राजाराम तण्डुकार, राजेन्द्र शाही र शिवानी प्रधान पनि केन्द्रीय सदस्यमा समेटिएका छन् ।

केन्द्रीय सूचीमा राखिएका केही व्यक्तिहरूले आफ्नो सहमति नलिई नाम निर्वाचन आयोग पुर्‍याएको भन्दै असहमति जनाएका छन् । तीमध्ये एक हुन् टासी ल्हाजोम । आफू कुनै पनि राजनीतिक दलमा नरहेको उनको भनाइ छ । उनले कसरी आफ्नो नाम केन्द्रीय समितिमा राखेर निर्वाचन आयोग पुर्‍याइयो भन्ने जानकारी नभएको बताइन् ।

आफ्नो नाम हटाउनका लागि उज्यालो नेपाल पार्टीका नेताहरूलाई भनेको ल्हाजोमको भनाइ थियो । ‘मेरो नाम हटाउन भनिसकेको छु,’ टासीले भनिन् । टासी ल्हान्जोमको नाम मन्त्री बन्ने सूचीमा आएको थियो । त्यतिबेला उनको सम्बन्धमा विवाद भएपछि नियुक्त गरिएको थिएन ।