काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा सहमति नजुटेपछि आजको बैठक स्थगित गरिएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएकोको बैठक अब मङ्गलबार दिउँसो १ बजे पुनः बस्ने गरी सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। महाधिवेशनको स्वरूप र समय निर्धारणमा नेताहरूबीच फरक मत देखिएपछि सहमति खोज्ने प्रयासस्वरूप बैठक स्थगित गरिएको हो।
मङ्गलबारको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
महाधिवेशन कहिले गर्ने भन्नेमा मतभेद
बैठकमा संस्थापन पक्षले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने मत राखेको छ। पार्टी सभापति शेरबहादुर देउवा निकट समूह यही पक्षमा रहेको बताइन्छ।
तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू भने आगामी मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उनीहरूको तर्क अनुसार पार्टी विधानले तोकेको चार वर्षे कार्यकाल मंसिरमा समाप्त हुँदै जाने भएकाले त्यसअघि नै नयाँ नेतृत्व चयन गर्नुपर्नेछ।
विशेष महाधिवेशनको हस्ताक्षर दर्ता
त्यति मात्र होइन, असन्तुष्ट समूहले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वानका लागि आवश्यक हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालयमा दर्ता पनि गराइसकेको छ।
विशेष महाधिवेशनको पहलसँगै पार्टीभित्र आन्तरिक छलफल तीव्र बनेको छ। नेताहरूबीच संवादका माध्यमबाट समाधान खोज्ने प्रयास जारी रहेको र मङ्गलबारको बैठक निर्णायक बन्न सक्ने बताइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









