काठमाडौँ, कात्तिक २७ : कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालो चढ्दै छ । अहिले दर्शकले पनि नेपाली चलचित्रलाई मन खोलेर माया गर्न थालेका छन् । यद्यपि दर्शक चलचित्रमा कथाको कमजोरी र एकै किसिमका भावनात्मक रुवावासीका कुरा मिसिएर बनेका चलचित्र हप्तैपिच्छे प्रदर्शनमा आउन थालेपछि निराश पनि छन् । नेपाली चलचित्रमा के हेर्ने र के खोज्ने ? भनी दर्शकलाई सोच्न बाध्य बनाएको छ ।
कलाकारको एकै प्रकृतिका अभिनय, रुवाबासी र बलिउडका साउथ चलचित्रको हुबहु एक्सनका दृश्यले दर्शक वाक्क-दिक्क भइसकेका छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको पूर्णबहादुरको सारङ्गी र १२ गाउँदेखि लिएर यस वर्ष प्रदर्शनमा आएका हरिबहादुरको जुत्ता, माइतीघर, बलिदान र परान यसका ज्वलन्त उदाहरण हुन् ।

निर्देशक केपी पाठकका अनुसार चलचित्रको कथा भनेको मान्छेले जीवनमा गर्ने दैनिक काम जस्तै हो । नेपालमा एआईदेखि लिएर ऐतिहासिक चलचित्र बनिरहेका छन् । यस्तै खालका चलचित्र बनाउनका लागि हामीसँग पर्याप्त बजेट छैन । चलचित्र क्षेत्र सानो बजारमा मात्र सीमित भएको हुनाले पनि दर्शक एकै किसिमका चलचित्र हेर्न बाध्य भइरहेका छन्, उहाँ भन्नुहुन्छ । आफ्नो बजार पनि छैन र विश्वव्यापी रूपमा हामीले यस क्षेत्रलाई चिनाउन सकिरहेका पनि छैनौँ । फरक किसिमका काम गर्न बजेटको आवश्यकता पर्छ जसको अभाव अहिले सबैभन्दा धेरै छ । २९ करोडको चलचित्र निर्माण गर्नु प¥यो भने त्यसको बजार कहाँ छ ? पाठकले प्रतिप्रश्न गर्नुभयो ।
कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली चलचित्र केही माथि उठेको अवश्य हो तर अझ पनि बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्नका लागि जति कथावस्तु र प्रस्तुतिले पेल्नु पथ्र्यो त्यो भइरहेको छैन । अझै पनि उही घिसिपिटी रोनाधोना र एक्सनको फन्डाले चलचित्र सधैँ चलाउन सकिन्छ भन्ने भ्रममा छन्, हाम्रा निर्देशकहरू । “चलचित्र भनेको प्रस्तुति हो कथा त सानो प्लटमा पनि बनाउन सकिन्छ,” उहाँले भन्नुभयो ।

अर्का निर्देशक ज्ञानेन्द्र देउजाको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार चलचित्रको कथामा खासै परिवर्तन आएको छैन । यहाँ चलचित्रको कथाभन्दा पनि दुःखान्त कुरालाई मुख्य विषय बनाएर चलचित्र चलाउने होडबाजी चलेको छ । सधैँ भावनात्मक अभिनय र एक्सनले मात्र चलचित्र चल्छ भन्नु पनि मूर्खता हो । अहिले पारिवारिक चलचित्रले बजार पिटिरहेको छ जुन सधैँ एकनास तरिकाले जान्छ भन्ने हुँदैन । चलचित्रले करोड कमायो भनेर प्रचार गर्नुको खासै तुक नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “करोड कमायो भने त्यसबापत कति पैसा आउँछ भन्ने पनि सोच्नु पर्छ । एउटा चलचित्र हलमा एक करोड रुपियाँ कमायो भने त्यसलाई ३५ प्रतिशत आउँछ । त्यसैले पनि चलचित्रले यति कमायो उति कमायो भन्नु नै बेकार हो,” उहाँ भन्नुहुन्छ । चलचित्रको कथा जे जस्तो होस् अहिले निर्देशक र निर्मातालाई आफ्नो चलचित्रमा रुवावासीका भावनात्मक दृश्य र भारतीय चलचित्रबाट हुबहु कपि गरिएका एक्सनका दृश्य भए पुग्छ । कलाकारको अनुहारभन्दा पनि नीर शाह, हरिवंश आचार्य, विजय बराल, प्रविन खतिवडा, महेश त्रिपाठी, समीर भट्ट, अञ्जना बराइली, पूजा चन्द, केकी अधिकारी लगायतले गरेको भावनात्मक रोइ-कराइको अभिनयले नै दर्शकलाई हलसम्म तान्न बाध्य बनाइरहेको छ ।
– सुकृत नेपाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









