05/21/2025, 22:54:18

‘वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ’


देउखुरी (दाङ), ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार जनताका निराशा अन्त्य गर्दै आर्थिक विकासमार्फ जीवनस्तर उकास्ने काममा प्रयासरत रहेको उल्लेख गर्नुभयो ।
अहिलेको सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर रहने दाबी गर्दै महासचिव पोखरेलले सरकारविरुद्ध कसैले नकारात्मक प्रचार गरे त्यो निराधार हुने धारणा राख्नुभयो । सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार निरन्तर रहने उहाँले बताउनुभयो ।
वर्तमान सरकारको नीति र योजनाका कारण पछिल्लो समय मुलुक आर्थिक रूपमा सबल बन्नुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको महासचिव पोखरेलले दाबी गर्नुभयो । “दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ, यथाशीघ्र काम सुरु हुन्छ । लमही–घोराही सडकलाई वैकल्पिक मार्गका रूपमा अगाडि बढाउने योजना सरकारले बनाएको छ”, उहाँले भन्नुभयो ।
उहाँले दाङको टरिगाउँ विमानस्थललाई विस्तार गरिने जनाउँदै पिउने पानी र सिँचाइका लागि पनि विभिन्न योजना बनाइएको बताउनुभयो । “दाङको औद्योगिक क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने काम यथाशीघ्र सुरु हुनेछ”, उहाँले भन्नुभयो, इन्धन डिपो निर्माणको विषयमा सरोकार भएकासँग छलफल भइरहेको छ ।”
महासचिव पोखरेलले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट्को काम आगामी आर्थिक वर्षदेखि नै अगाडि बढाइने बताउनुभयो । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको उहाँले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमल योगीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव निमुसङ्गम घर्तीले गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ