१२ चैत, दाङ : बायाँहाते स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसको अपराजित यात्रा कायमै रहेको छ । पुलिसले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशले सुरुवात राम्रो गरे पनि ललितको कसिलो बलिङमा कर्णाली २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो । मध्यम लक्ष्य पाए पनि कर्णालीलाई जित अपरिहार्य थियो । कर्णालीका लागि रवीन्द्र शाहीले राम्रो सुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले लय पकड्न नसक्दा हार बेहोर्यो ।
रवीन्द्रले ३२ बलमा २ छक्का र ७ चैकाको मद्दतमा ४९ रन जोडेर सागर ढकालको बलमा बोल्ड भए । त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने कोशिस गरेपनि पुलिसले ३० रनमा पेभेलियन फर्कायो । अर्जुनले ४२ बलमा १ छक्का र ३ चौकाको सहयोगमा ३० रन जोडेर ललितको बलमा क्याच आउट भए । सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए ।
ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई आउट गर्दै ९ ओभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे । सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्यो। जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले हालसम्म १०३ विकेट लिईसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दीलिप नाथले ५९ बलमा २ चौकाचसहित ३४ रन बनाएर दिवान पुनको बलमा एलबीडब्लू भए ।
पुलिसका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनको साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए । अन्तिम विकेटका रूपमा आएका सागर ढकालले अविजित २२ रन जोडे । पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, आरिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलो बलमा बोल्ड भए ।
कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले समान १-१ विकेट लिए । दाङमा पहिलो पटक आयोजित प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णाली प्रदेश टिम पाँचौं स्थानमा रहेको छ। अहिलेसम्म ८ खेल खेलिसकेको पुलिस क्लब ८ खेलमा शतप्रतिशत जित निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।