सोमबार, चैत ०३, २०८१

प्रधानमन्त्री कप : लुम्बिनीद्वारा मधेश प्रदेश पराजित


४ चैत, दाङ : नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चौथो जित हासिल गरेको छ । लुम्बिनीका स्पिनरले कसिलो बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको खेलमा १५९ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशका कुनै पनि खेलाडीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनको सानदार जित निकाल्यो ।

युवा खेलाडी सम्मिलित लुम्बिनीका खेलाडीले मधेशका चार खेलाडीलाई बोल्ड गर्दा ३ खेलाडी एलबीडब्लु आउट भए । १-१ जना स्पम्पिङ आउट, रनआउट र क्याच आउटको सिकार हुँदै २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मधेश प्रदेशका खेलाडीले जम्मा ७५ रन जोडे ।

मधेशका लागि दीपेश दासले ५९ बल खेलेर १ चौकासहित २३ रन बनाएर रनआउट हुन पुगे । हरिशंकर शाहले ३३ बलमा १ चौकासहित १४ रन जोडेर विप्रसन केसीको बलमा एलबीडब्लु आउट भए । पहिलो ओभरमा राम्रो सुरुआत गरेको मधेशका लागि हतारिएर ब्याटिङ गर्दा सस्तैमा समेटिए । पहिलो पावर प्लेमा ३३ रन जोड्दा ४ विकेट गुमाएको मधेश प्रदेश २६ दशमलव ५ ओभरमा अलआउट भयो ।

मधेशका लागि दुई जना बाहेक अरू कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान अनिल साह ६ रनमा स्पम्पिङ आउट हुँदा रोशन बिक ४ रनमा रमेश कुर्मीको बलमा बोल्ड भए । मयन यादव २ रन, पवन सर्राफ १ रन, प्रदीप पासवान ८ रन, रुपेश सिंह ९ रन, कमल गुप्ता २ रन बनाएर पभेलियन फर्किँदा विशाल पटेल र रञ्जित कुमारले खाता नै खोल्न सकेनन् । मधेशको टिमलाई धारासयी बनाउन रमेश कुर्मीले ८ ओभरमा २ मेडनसहित जम्मा १० रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए । विप्रसन केसीले ५ ओभरमा ३ मेडनसहित जम्मा ७ रन दिएर ३ विकेट लिए ।

कप्तान देव खनालले २ ओभरमा ८ रन दिएर १ विकेट, अजय चौहानले ७ दशमलव ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए । लुम्बिनी प्रदेशका लागि ७३ रन बनाउँदै जितका आधार तय गरेका आकाश त्रिपाठी प्लेयर अफ द म्याच भए । यसअघि, युवा ब्याटर आकाश त्रिपाठीले ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले १५८ रन बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।

लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलको सामना गर्दै १ छक्का र ६ चौकाको मद्दतमा ७३ रनको योगदान दिए । उनले अर्धशतक बनाउन १०५ बल खेले । ६० रनमा पाँच विकेट गुमाइसकेको अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले ७५ रनको साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको हो । विशाल पटेलको बलमा बोल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले पारी केही उकासे । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए ।

कप्तान देव खनाल २५ बल खेल्दै २ चौकाको मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लुको सिकार भए । लुम्बिनीका अरू खेलाडी सस्तैमा आउट भए । ओपनर द्वय मृनाल गुरुङले ६ रन र मनिष थापाले ५ रन बनाए । नरबहादुर सार्कीले ५ रन, अजय चौहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३-३ रन, प्रज्ज्वल थापा र रमेश कुर्मले १-१ रन जोडे । पहिलो १० ओभरमा जम्मा २९ रन बनाउँदा दुवै ओपनर गुमाएको लुम्बिनीले २३ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएको थियो । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हो ।

मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलो बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पारे । विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिए । उनले ५ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ ओभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिए । रञ्जित कुमारले १० ओभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ ओभरमा २१ रन दिएर १ विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौँ स्थानमा मधेश प्रदेश रहेको छ । अहिलेसम्म ४ खेल खेलिसकेको लुम्बिनीले ३ खेलमा जित र १ मा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । ४ खेल खेलिसकेको मधेश प्रदेश १ खेलमा जित र २ मा हार व्योहोर्दै २ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा यथावत् छ ।

लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ । यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टिम एपीएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले सहभागिता जनाएका छन् । फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता भइरहेको छ ।

तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ