४ चैत, तिलोत्तमा : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
ललित राजवंशीको उत्कृष्ट बलिङमा सोमबार पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ । पुलिसको यो लगातार पाँचौँ जित हो । जितका लागि पुलिसको दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रनमा समेटियो ।
सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रनको योगदान गरे । मिलन बोहराले २३ तथा टेक रावतले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरलाई सस्तैमा समेट्न ललित एक्लैले ६ विकेट लिए । ललितले कसिलो बलिङ गर्दै ७ ओभरमा मात्र १६ रन खर्चिए । सागर ढकालले २ तथा करण केसीले एक विकेट हात पारे । त्यसअघि भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान गरे । ऐरीले ४७ बलमा ५ चौका प्रहार गरे । आरिफ शेखले ४०, दिलीप नाथले १९, अमित श्रेष्ठले १८ र सागर ढकालले २२ रन बनाए । ओपनर अर्जुन साउदले २ रन र गुल्सन झाले एक रन बनाउँदा कुशल भुर्तेल रननै नबनाई आउट भए । अन्तिममा मैदान छिरेका ललित राजवंशीले ४ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका सौर्य श्रेष्ठ एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिए । भोजराज भट्टले ३ तथा शेर मल्लले २ विकेट लिँदा हेमन्त धामीले एक विकेट हात पारे ।
यो नतिजापछि अपराजित पुलिस १० अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत् छ । सुदूरपश्चिमको यो लगातार चौंथो हार हो । पराजित सुदूरपश्चिम भने २ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।